काठमाडौँ, २२ साउन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन् ।
आज नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन्।
संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका अप्ठ्याराहरूलाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने आङदेम्बेले बताए। पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउन खोज्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।
उनले भने, ‘हामी अहिले संविधानको पुनरावलोकन गर्ने ठाउँमा आइपुगेका छौँ,’ ‘यो नयाँ संविधानको खोजी वा पुनर्लेखन नभई १० वर्षको अभ्यासमा देखिएका कमजोरीहरू सुधार्न गरिने परिमार्जन हो।’






