काठमाडौँ, २२ साउन । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरूलाई रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने पार्टी नबन्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ‘यतिवेला देशमा पुनः एकपटक राजनीतिक दलहरूबिच विघटन र पुनर्गठन अथवा विनिर्माण र निर्माणको नयाँ चक्र चल्न थालेको अनुभूत हुँदै छ। त्यो स्वाभाविक र अनिवार्य कुरा हो। किनकि प्रकृति, समाज र विचार (पार्टी) को उद्विकासको आधारभूत नियम नै त्यही हो। परन्तु खालि पुरानै नेता, विचार, प्रणालीका विभिन्न चिराहरू घाेलमेल गरेर र नयाँ रंगरोगन गरेर मात्र नयाँ युगको आवश्यकता पूर्ति गर्ने नयाँ पार्टी बन्दैन।’
विचार–सिद्धान्त विनाको पार्टी दिशावोधक यन्त्र विनाको गाडी वा जहाज जस्तै हुने उनले बताए । उनी भन्छन्– ‘अहिलेको वित्तीय भूमण्डलीकृत विश्व र आन्तरिक जडता र बाह्य परनिर्भरतको दुष्चक्रबाट गुज्रिरहेको बहुवर्गीयरबहुजातीय नेपाली समाजमा दलहरू पुरानै वैचारिक जडताबाट माथि उठ्न नसक्नु अथवा समयानुकूल विचारको विकास गर्न नसक्नु सबभन्दा ठुलो समस्या र विडम्बना भएको छ।’





