काठमाडौँ, २० साउन । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए ।
उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने उल्लेख गरेका थिए । “लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ । अहिले हामी ऊर्जा र उत्पादनको क्षेत्रमा छौँ । अब हामीले अन्य क्षेत्रमा पनि जोड दिनुपर्छ,” परराष्ट्रमन्त्री खनालले भने ।
शिक्षा क्षेत्रमा अनुसन्धान संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए । परराष्ट्रमन्त्री खनालले दक्षिण कोरियाले सञ्चालन गर्दै आएको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम दुई मुलुकबीचको सम्बन्धको नमुना रहेको बताएका थिए ।
ईपीएसले नेपाल र दक्षिण कोरियाबीच जनस्तरको सम्बन्धमा समेत सकारात्मक प्रभाव पारेको भनाई परराष्ट्रमन्त्री खनालको थियो ।
आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत पार्कले नेपालमा रहेर गरेको सेवाको परराष्ट्रमन्त्री खनालले प्रशंसा गरेका थिए ।






