एजेन्सी, २० साउन । इरान र ओमानबिच होर्मुज जलडमरूबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको दुवै पक्षकाे संकेतपछि मध्यपूर्वमा जारी युद्धको प्रभाव कम हुने आशा बढेको छ ।
तर, त्यही समयमा यमननजिकै रेड सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमणले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै गम्भीर रहेको देखाएको छ।
इरानले ओमानसँगको वार्ता ‘सकारात्मक’ रूपमा अघि बढिरहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि होर्मुज जलडमरू पुनः खोल्ने विषयमा वार्तामा प्रगति भएको बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समेत सम्झौता ‘आज वा भोलि’ नै हुनसक्ने सम्भावना औँल्याएका छन् ।
पछिल्ला दिनमा होर्मुज संकट समाधानका लागि अमेरिका, इरान, ओमान र कतारबिच कूटनीतिक सम्पर्क तीव्र भएको छ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका छन्। कतारले सबै पक्षसँग सम्पर्क गरी युद्धको कूटनीतिक समाधान खोज्न मध्यस्थता भइरहेको जनाएको छ ।
होर्मुज पुनः सञ्चालन हुनसक्ने सम्भावनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तत्काल प्रतिक्रिया देखिएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल झरेको छ। युद्धको उत्कर्षमा यो मूल्य १०० डलरभन्दा माथि पुगेको थियो।
तेलको मूल्य घट्दा पेट्रोलियम पदार्थ, विद्युत् उत्पादन र ढुवानी लागतमा राहत पुग्ने सम्भावना हुन्छ। विश्वभर उपभोक्ताले इन्धनको मूल्यसँगै वस्तु तथा सेवाको मूल्यमा पनि यसको प्रभाव महसुस गर्न सक्छन्।






