काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७ दिनको म्याद मागेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलमार्फत ७ दिनको म्याद मागेको हो । प्रसाईंलाई म्याद थप्नेबारे जिल्ला अदालत भक्तपुरमा बहस भइरहेको छ ।
आइतबार राति प्रहरीले उनलाई भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरेको थियो । प्रसाईंविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर अन्तर्गतको सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी गतिविधि गरेको, सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको र विद्युत्तीय कारोबार सम्बन्धी ऐन विरुद्धको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै म्याद मागेको छ ।
सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी वर्गीय जातीय, धार्मिक क्षेत्र वा यस्तै अरू कुनै आधारमा घृणा द्वेष वा अवहेलना उत्पन्न हुने काम गरे गराएमा ३ वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । त्यसपछि उनी राति पक्राउ परेका हुन् ।






