शिक्षामन्त्री र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १८ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

आज सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।  साथै, विद्यालय शिक्षामा विशेष गरी चेस खेलको प्रवर्द्धन तथा भविष्यमा खेलकुदका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा विचार विमर्श भएको थियो ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबिचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक निकटताबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबिचको बहुआयामिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा, विशेष गरी चेस खेलको प्रवर्द्धनका लागि, मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए । नेपाल विद्यालय शिक्षामै खेलकुदलाई प्रभावकारी रूपमा समायोजन गर्दै अघि बढिरहेको उल्लेख गर्दै उनले यस दिशामा मन्त्रालय सकारात्मक रहेको जानकारी दिए । साथै, नेपाल चेस महासङ्घ र मंगोलियन चेस फेडेरेशनबिच सहकार्यको वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मङ्गोलियाबिचको लामो कूटनीतिक सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक विशेषताबारे चर्चा गर्दै दुवै देश भूपरिवेष्टित राष्ट्र भएकाले धेरै साझा अनुभव र सम्भावना रहेको उल्लेख गरे ।

उनले चेस केवल खेल मात्र नभई शिक्षाको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै मंगोलियाले दक्षिण एसियाका विभिन्न देश तथा विश्वका अन्य मुलुकसँग सहकार्य गरी विद्यालय शिक्षामै चेसलाई समायोजन गर्ने कार्य लामो समयदेखि गर्दै आएको जानकारी दिए । साथै, उक्त अनुभव नेपालसँग पनि आदानप्रदान गर्न तथा शिक्षा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गर्न मंगोलिया पूर्ण रूपमा तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको

काठमाडौँ, १० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका