काठमाडौँ, १६ साउन । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले पार्टीलाई एकताबद्ध बनाउन वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको बताएका छन् ।
आज संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता साउदले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको स्पष्ट पारेका हुन् ।
उनले वार्ता र संवादका माध्यमबाट सहमतिमा पुग्न सकिने प्रशस्त सम्भावना रहेको बताउँदै त्यसका लागि वर्तमान नेतृत्वले लचकता देखाउनुपर्नेमा जोड दिए ।
संस्थापनपक्षसँग अनौपचारिक छलफलहरू भए पनि अहिलेसम्म सार्थक बहस हुन नसकेको उनले उल्लेख गरे। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षलाई पठाएको प्रस्तावमा समेत अहिलेसम्म कुनै जवाफ नआएको उनको भनाइ छ ।






