एजेन्सी, १४ साउन । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा ९ जना प्रहरीको मृत्यु भएको छ ।
सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् । पछिल्ला केही दिनयता सोही क्षेत्रमा भएका लगातारका आक्रमणले पाकिस्तानको सुरक्षा चुनौती थप गम्भीर बनेको छ ।
प्रहरीका अनुसार बुधबार हङ्गु जिल्लास्थित प्रहरी चौकीलाई लक्षित गरी ठूलो सङ्ख्यामा सशस्त्र व्यक्तिले आक्रमण गरेका थिए । झडपमा ९ जना प्रहरीको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका छन् । जवाफी कारबाहीमा सुरक्षा बलले १५ जना आक्रमणकारीलाई मार्नुका साथै अन्य धेरैलाई घाइते बनाएको जनाएको छ ।
खैबर पख्तुनख्वा प्रहरीद्वारा जारी विज्ञप्तिमा झडपका क्रममा एउटा बख्तरबन्द सवारीसाधन र अन्य धेरै प्रहरीका गाडीमा पनि गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ ।
यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशबाट लिएको छ । पछिल्ला महिनामा उक्त समूहले खैबर पख्तुनख्वाका विभिन्न जिल्लामा सुरक्षा निकायलाई लक्षित गर्दै आक्रमण तीव्र बनाउँदै आएको छ ।






