काठमाडौँ, ७ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र खाद्य तथा कृषि संगठन (FAO) का नेपाल प्रतिनिधि केन सिमिजु बीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा रैथाने वस्तुहरूलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा विस्तृत छलफल भएको छ । सो अवसरमा भौगोलिक संकेत (GI – Geographical Indication) को अन्तर्राष्ट्रिय प्रावधान र यसको महत्त्वबारे प्रकाश पारिएको थियो ।
भेटका क्रममा FAO का प्रतिनिधिले विश्वका अधिकांश देशहरूका साथै एसियाका लगभग सबै राष्ट्रमा जीआई (GI) प्रणाली लागू भइसके तापनि नेपालमा अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराएको थियो । नेपाली रैथाने वस्तुहरूको जीआई दर्ता नहुँदा यहाँका बहुमूल्य ब्रान्डहरू अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल पक्का कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिए ।
जवाफमा मन्त्री यादवले नेपालको रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको र यस विषयमा पहल सुरु गरिसकेको जानकारी गराइन् । उनले यस विषयलाई गम्भीरताका साथ लिँदै कानुन मन्त्रालयसँग सहकार्य गरी चाँडै विधेयक तयार पारेर अगाडि बढ्ने बताइन् ।






