काठमाडौँ, २३ असार । परराष्ट्रमन्त्री शिशिर खनालले रुसी सेनामा रहेका १३१ जना नेपालीको मृत्यु भएको बताएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम र बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सरकारले सन्तुलित कूटनीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुसी सेनामा भर्ना भएका नेपालीका सम्बन्धमा संसद्लाई जानकारी दिँदै मन्त्री खनालले परम्परागत सम्झौता भएका मुलुकबाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको प्रस्ट पारे । हालसम्म रुसी सेनामा रहेका १३१ जना नेपालीको मृत्यु भएको, ९५ जना बेपत्ता रहेको र ९ जना युक्रेनमा बन्दी अवस्थामा रहेको उनले बताए ।
मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र नेपालीलाई सेनामा भर्ना नगर्न रुसी सरकारसँग औपचारिक रूपमा आग्रह गरिएको उनको भनाइ छ । नेपालको ‘सौम्य शक्ति’ विस्तारका लागि लुम्बिनी फेलोसिप, अन्तर्राष्ट्रिय संवाद शृङ्खला र सगरमाथा संवाद जस्ता कार्यक्रमहरू सञ्चालन गरिने मन्त्रालयको योजना रहेको छ ।
सरकारले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । नेपाललाई सूचना प्रविधि, शिक्षा र स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन तथा ऊर्जा एवं पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षण गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने मन्त्री खनालले जानकारी दिए । यसका साथै ‘ब्राण्ड नेपाल’ अभियानमार्फत नेपाली मौलिक पहिचान, संस्कृति र उत्पादनको विश्वव्यापी प्रवर्द्धन गर्ने नीति लिइएको छ ।






