लन्डन, २१ असार । नेपाल र बेलायतबिचको व्यापार, लगानी तथा समग्र आर्थिक सहकार्यलाई अझ सुदृढ र विस्तारित बनाउने उद्देश्यले लन्डनस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम २०२६ सम्पन्न भएको छ।
नीति निर्माता, सांसद, उद्योगपति, लगानीकर्ता, निजी क्षेत्रका प्रतिनिधि, प्रविधि विज्ञ, विकास साझेदार तथा बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसहित १५० भन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न भएको यस फोरमले दुई देशबिचको आर्थिक सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका क्रममा दुई महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबिच भएको हो भने दोस्रो वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच सम्पन्न भएको हो । लन्डनमा वेस्ट लन्डन चेम्बरका प्रमुख कार्यकारी अधिकृत एलन राइड्स र उपाध्यक्ष डा. रेणु राजले हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष पृथ्वीराज पाण्डे र नेपाल ब्रिटेन चेम्बरका अध्यक्ष डा. रोशन राठीले काठमाडौँबाट भर्चुअल माध्यममार्फत हस्ताक्षर गरेका थिए ।
यी सम्झौताले दुई देशका व्यापारिक समुदायबिच संस्थागत सहकार्य विस्तार गर्दै व्यापार तथा लगानीका अवसरहरूको पारस्परिक प्रवर्द्धन, व्यावसायिक सम्बन्ध सुदृढीकरण र दीर्घकालीन साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
फोरमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. शिशिर खनालले पठाएको सन्देशमा नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने, पर्यटन विस्तार, प्रविधि हस्तान्तरणलाई सहज बनाउने, रोजगारी सिर्जना गर्ने तथा नेपाललाई विश्व अर्थतन्त्रसँग थप मजबुत रूपमा जोड्ने दिशामा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि तथा डिजिटल सेवाजस्ता प्राथमिकताका क्षेत्रमा बेलायती लगानीलाई नेपालले खुलेर स्वागत गर्ने बताए। बेलायतलाई नेपालको महत्त्वपूर्ण विकास साझेदारका रूपमा चिनाउँदै उनले प्रविधि रूपान्तरण तथा नवप्रवर्तनका क्षेत्रमा समेत द्विपक्षीय सहकार्य विस्तार गर्न इच्छुक रहेको जनाए।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै हालै बेलायतकी इन्डो–प्यासिफिक तथा समानतामन्त्री सीमा मल्होत्राको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ ऊर्जा दिएको बताए। उनले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा नेपाली जनशक्तिले विश्व बजारमा प्रतिस्पर्धात्मक सेवा दिइरहेको उल्लेख गर्दै नेपाल डिजिटल अर्थतन्त्रको महत्त्वपूर्ण साझेदार बन्न सक्ने विश्वास व्यक्त गरे। बेलायत नेपालको डिजिटल रूपान्तरणमा राम्रो साझेदार बन्न सक्ने उनको भनाइ थियो ।






