काठमाडौँ, २० असार । नेकपा (एमाले)को सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।
शनिबार बसेको राष्ट्रियसभा बैठकमा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अघिल्लो अभिव्यक्तिप्रति संकेत गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती समेत दिइन् । अर्थमन्त्रीले यसअघि प्रतिनिधिसभामा ‘अघिल्लो सरकारले आफू र आफ्नो दलका नेतामाथि सम्पत्ति शुद्धीकरणलाई हतियार बनाएर अनुसन्धान गर्न खोजेको’ भनी दिएको बयान झुटो भएको उनको जिकिर छ ।
संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउने सरकारको कार्यशैलीप्रति आपत्ति जनाएकी हुन् । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी विधेयकलाई गहन छलफलका निम्ति संसदीय समितिमा पठाउन माग गरेकी छन् । सांसद झाँक्रीले विधायिकी अधिकार र बुद्धिको सही प्रयोग गर्नका निम्ति पनि यो विधेयकलाई हतारमा पारित नगरी समितिमा लगेर विस्तृत छलफल गर्नुपर्ने अडान राखिन् ।
कुनै पनि कसुरमा पक्राउ परेका व्यक्तिलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने प्रक्रियालाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिइन् । सांसद झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको प्रसंग उल्लेख गर्दै सरकारको नियतमाथि प्रश्न उठाइन् । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्ने जोखिम बढिरहेका बेला सरकारले लामिछानेको मुद्दा फिर्ता लिन खोज्नु द्वैध चरित्र भएको उनको आरोप छ ।
उनले भनिन्, “यो कानुन अरूलाई प्रयोग गर्न मात्र बनाइँदै छ कि भन्ने आशंका उब्जिएको छ । कुन कर्मचारीले कसको आदेशमा अनुसन्धान गर्न खोजिएको सूचना दियो, त्यो सरकारले सार्वजनिक गर्नुपर्छ । यदि, त्यो सत्य होइन भने अर्थमन्त्रीले संसद्मा झुट बोलेको ठहरिन्छ र उहाँले सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।”






