विधि विज्ञान विशेषज्ञको न्यूनतम योग्यता स्नातकोत्तर हुनुपर्छ : मन्त्री पुन

काठमाडौँ, १७ असार । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स)को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह (मास्टर्स)को योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ ।

आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलका क्रममा सरकारले उक्त प्रस्ताव गरेका हुन् । 

सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विगतमा स्नातक तह (व्याचलर्स)लाई नै ठूलो शैक्षिक उपलब्धिको रूपमा लिइने गरिएको भए पनि वर्तमान समय र प्रविधिको विकाससँगै विशेषज्ञताका लागि स्नातकोत्तर तह आवश्यक भइसकेको उनले तर्क गरे । विधि विज्ञान अत्यन्तै संवेदनशील विषय भएको उल्लेख गर्दै उनले ‘कामचलाउ’ जनशक्तिको भर पर्दा अनुसन्धान र न्याय सम्पादनमा गम्भीर त्रुटि हुन सक्नेतर्फ सचेत गराए ।

मन्त्री पुनले प्रमाण संकलन र अनुसन्धानको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । हाल प्रचलित रासायनिक, भौतिक र जैविक प्रमाणका साथै ‘विद्युतीय’ (डिजिटल) प्रमाणलाई पनि कानुनी रूपमा परिभाषित गरिनुपर्ने सुझाव दिए । डिजिटल माध्यमबाट हुने अपराध र प्रमाणलाई सम्बोधन गर्न यो अनिवार्य भइसकेको उनको भनाइ थियो ।

“विशेषज्ञ भनेको वास्तवमै जान्ने हुनुपर्छ । विगतको परिस्थिति बेग्लै थियो, तर अहिले संसार धेरै अगाडि बढिसकेको छ । यदि दक्ष जनशक्तिको अभाव छ भने बरु सरकारले अध्ययन र तालिमको व्यवस्था गरेर नयाँ जनशक्ति तयार गर्नुपर्छ, तर योग्यतामा सम्झौता गर्नुहुँदैन,” मन्त्री पुनले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको

काठमाडौँ, ११ साउन । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा