कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

‘आवेदनदेखि निर्णय सम्म सबै अनलाइनबाटै’

काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी थालेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणालीको काम अघि बढाएको हो।

मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा Application Programming Interface (API) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ।

यस प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ। यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणाली मार्फत अनलाइनबाटै हेर्न सक्नेछन्।

मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग API मार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि हुनेछ। साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन्। उनले यो प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको