काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने सम्बन्धमा काठमाडौँमा सम्बन्धन प्राप्त कलेजहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तम कुमार रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर बिजुकुमार थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा विश्वविद्यालयको तर्फबाट विज्ञान तथा प्रविधि संकायका दिन नवीनकुमार भट्टराई, चिकित्साशास्त्र संकायका दिन डा. श्याम मल्लिक, उपकुलपतिका सल्लाहकार दिनेश राज सुवेदी, सह परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, मुख्य अधिकृत विनय भट्टराई वरिष्ठ अधिकृत विभूषिता अर्याल, पिउक्यानका अध्यक्ष सुधीर गुरागाईको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँ भक्तपुर ललितपुर पोखरा चितवन बीरगञ्ज भैरहवा नेपालगञ्ज लगायत विभिन्न ठाउँबाट करिब ७० वटा क्याम्पस कलेजका प्रिन्सिपल एवं प्रतिनिधिहरू सहित १४० जनाको उपस्थिति रहेको थियो ।

विश्वविद्यालयद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा अनुगमन तथा मूल्यांकन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा उत्तम कुमार रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने software विकास गर्ने प्राविधिकहरूले प्रविधिको डेमो प्रदर्शन गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर बिजुकुमार थपलियाले भन्नुभयो ‘आज हामी केवल एउटा नयाँ सफ्टवेयरको सुरुवात गर्न भेला भएका होइनौं, हामी पूर्वाञ्चल विश्वविद्यालयलाई डिजिटल, पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्थाको रूपमा रूपान्तरण गर्ने ऐतिहासिक यात्राको प्रारम्भ गर्न यहाँ एकत्रित भएका छौं। समयको माग, प्रविधिको विकास र उच्च शिक्षामा बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा वित्तीय गतिविधिहरूलाई डिजिटल माध्यमबाट एकीकृत गर्ने उद्देश्यका साथ Purbanchal University Management System (PUMS) को कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ ।’
यस प्रणालीमार्फत विद्यार्थी भर्ना, शैक्षिक अभिलेख, परीक्षा व्यवस्थापन, प्रशासनिक गतिविधि, वित्तीय कारोबार, प्रतिवेदन प्रणाली तथा संस्थागत अनुगमनलाई एकीकृत डिजिटल प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको छ। यसबाट सूचना प्रवाह छिटो, तथ्याङ्क व्यवस्थापन व्यवस्थित, निर्णय प्रक्रिया तथ्यमा आधारित तथा सेवाग्राहीप्रति उत्तरदायित्व अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
अनुगमन तथा मूल्याङ्कन केन्द्रको दृष्टिकोणबाट हेर्दा, यो प्रणाली सूचना संकलन गर्ने माध्यम मात्र होइन, विश्वविद्यालयका गतिविधिहरूको वास्तविक अवस्था बुझ्ने, कार्यसम्पादन मापन गर्ने तथा गुणस्तर सुधारका लागि आवश्यक निर्णय लिन सहयोग गर्ने महत्वपूर्ण उपकरण हुने विश्वास लिइएको छ ।
उक्त कार्यक्रममा अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक उत्तम कुमार रेग्मीले विश्वविद्यालय सूचना र प्रविधिको क्षेत्रमा अग्रणी भूमिकामा रहेको र यस कार्यक्रम मार्फत विश्वविद्यालय र आङिक एवं सम्बन्धन प्राप्त क्याम्पस कलेजहरूको सम्बन्धमा विस्तार र सहज पहुँच हुने विचार व्यक्त गर्नुभयो ।






