लेबनानबाट सेना फिर्ता गर्न इजरायल अस्वीकार

एजेन्सी, ५ असार । अमेरिका र इरानबीच भएको शान्ति सम्झौतामा लेबनान मोर्चामा पनि सैन्य कारबाही रोक्ने उल्लेख थियो । तर, इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ । 

अमेरिका–इरान सम्झौतालाई लिएर जेरुसेलम र वासिंटनबीच तनाव बढिरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार कडा प्रतिक्रिया दिएका छन् । 

उत्तरी इजरायलमा रहेको ‘रुट ६०’ को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले उत्तर क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था पुनःस्थापित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “यसका लागि दक्षिणी लेबनानमा एक सुरक्षा क्षेत्र कायम राख्न आवश्यक छ । इजरायलको सुरक्षा आवश्यकताले माग गरेसम्म हामी त्यहाँबाट पछि हट्ने छैनौँ ।”

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थितिको नयाँ नक्सा सार्वजनिक गर्दै तत्कालका लागि आफ्ना सैनिकहरू फिर्ता बोलाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ । इजरायलले दक्षिणी लेबनानमा एक व्यापक सुरक्षा क्षेत्र  निर्माण गरेको बताइएको छ ।

आईडीएफद्वारा जारी विवरणअनुसार इजरायली सेनाको तैनाथी सीमा क्षेत्रदेखि लेबनानको भित्री भागसम्म करिब १० किलोमिटर फैलिएको छ । यो तैनाथी पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण क्षेत्रमा रहेको जनाइएको छ ।

इजरायलले आफ्ना सैनिकहरू निर्धारित क्षेत्रमा कायम रहने र उत्तरी इजरायलमा बसोबास गर्ने नागरिकको सुरक्षाका लागि यो व्यवस्था आवश्यक रहेको जनाएको छ । सेनाले सम्भावित सुरक्षा खतराहरूलाई निष्क्रिय पार्ने अभियान जारी राख्ने बताएको छ ।

नयाँ नक्साअनुसार इजरायली सेना गत अप्रिलको अवस्थाको तुलनामा लेबनानको अझ भित्री क्षेत्रमा पुगेको देखिन्छ । यस सुरक्षा घेराभित्र नबातिह वरपरका क्षेत्रहरू समेत समावेश भएका छन् ।

आईडीएफले जारी गरेको विज्ञप्तिमा सैन्य आवश्यकताका आधारमा यो क्षेत्र आफ्नो नियन्त्रणमा राखिने उल्लेख गरेको छ । यसको उद्देश्य इजरायली सेना र सीमावर्ती बस्तीहरूलाई सम्भावित आक्रमणबाट सुरक्षित राख्नु रहेको दाबी गरिएको छ ।

इजरायलले लेबनानको सरकारी सेनालाई पनि चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ । 

आईडीएफले पूर्वसूचना र समन्वयबिना उक्त क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिँदै त्यहाँ अझै पनि सैन्य अभियान जारी रहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वबीच भएको शान्ति सम्झौतामा लेबनानसहित विभिन्न मोर्चाहरूमा लडाइँ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । 

सम्झौताअनुसार दुवै पक्ष तथा उनीहरूका समर्थित समूहहरूले एकअर्काविरुद्ध प्रत्यक्ष सैन्य कारबाही रोक्ने उल्लेख गरिए पनि इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने निर्णय गरेपछि उक्त शान्ति प्रक्रियाको प्रभावकारिता र दीर्घकालीन सफलतामाथि नयाँ प्रश्न उठेको छ । जेरूसेलम पाेस्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै

काठमाडौँ, ५ असार । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल

काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि

काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन