सूनपा–८ मा सार्वजनिक सुनुवाईः १ अर्व ५० करोडभन्दा बढि रकमको पूर्वाधार तथा सामाजिक विकास

भक्तपुर, २ असार । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. ८ मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूयविनायक नगरपालिकाको सहयोगमा आज वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको छ ।

कार्यक्रममा वडासचिव प्रतिमा लामिछानेले वडाको प्रशासनिक तथा सेवा प्रवाहहरुको बारेमा जानकारी गराउनुभयो । प्रशासनिक सेवामा वडाले प्रकृया पुरा गरेकालाई १० मिनेट भित्रमा सेवा प्रवाह गरी जनताको अपेक्षा अनुसार कार्यसम्पादन गरिरहेको दावी गर्दै उहाँले चालु आर्थिक वर्षमा वडामा दुई करोड दुई लाख ३२ हजार पाँच सय २५ रुपैंया राजस्व संकलन भएको जानकारी गराउनुभयो । वडामा सरसफाई, सेनेटरी प्याड वितरण, मनोपरामर्श, ५० प्रतिशतको साझेदारीमा विद्युतीय चुलो वितरण, दुई तथा चार पांग्रे ड्राइभिङ तालिम, अध्ययन अवलोकन भ्रमण, सचेतनामूलक कार्यहरु, घरघरमा प्रहरी साझेदारी कार्यक्रम, क्षमता अभिवृद्धि, खेलकुद, कौशीखेती, घुम्ती हाटबजार, कुकुर बन्ध्याकरणलगायतका जनताको जीवनमा प्रत्यक्ष रुपमा देखिने र प्रयोग गरिने सेवाहरु गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडाले आफ्नै भवन निर्माण गरेको छ । जहाँबाट सहज र सुलभ तरिकाले प्रशासनिक सेवा प्रवाह गरिरहेका छौं । वडाबाट नै कृषि तथा पशुपन्छी सम्बन्धी कार्यहरुको सेवा प्रवाह शुरु गरेका छौं । वडामा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालय, स्तनपान कक्ष, सडकमा सीसी क्यामेरा जडान, सडक बक्ति, विपद व्यवस्थापनका सामग्रीहरु वितरण गरिसकेका छौं । त्यस्तै वडालाई वालमैत्री घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ । पुस्तकालय शुरु गरेका छौं भने कुन शिर्षकको सेवा कुन समय भनेर सार्वजनिक सूचना पाटीमा उल्लेख गरेर नै सेवा प्रवाह गरिरहेका छौं ।’

सुनुवाई कार्यक्रममा सहभागीहरुले वडामा गरिएका कार्यहरुको उपलब्धीको संरक्षण हुनुपर्ने, विकास गर्दा विनास हुने जोखिम अन्त्य गर्नुपर्ने, जंगली जनवारको संरक्षण तथा नागरिकको सुरक्षा हुनुपर्ने, करको बोझ भएकाले त्यसलाई घटाउनुपर्ने, करसम्बन्धी बडापत्र राख्नुपर्ने, कानुनी साक्षरता कार्यक्रम आयोजना गर्नुपर्ने, ऐतिहासिक पार्टी, मठ मन्दिर तथा अन्य सम्पदाहरु मास्न नहुने, विद्यालयको भवन किन भाडामा दिइयो ? पूर्वाधारको विकाससँगै वातावरणको संरक्षण हुनुपर्ने, खेलमैदान बनाउनुपर्ने, सीसी क्यामेराको मर्मत गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्नुपर्ने, ढल तथा खानेपानीको व्यवस्थापन–संरक्षण गर्नुपर्ने, ढल बनाएर मात्र सडक कालोपत्रे गर्नुपर्ने, स्थानीय स्तरमा स्वास्थ्य सेवा लिनेको संख्याको कारण खोजि गर्नुपर्ने, जलवायु परिवर्तन न्युनिकरणमूलक कार्य गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, मदिराजन्य पदार्थको सेवन तथा विक्रिमा नियमन गर्नुपर्ने लगायतका प्रश्न, सुझाव तथा गुनासोहरु गरिएको थियो ।

जावफमा सिपाडोल स्थास्थ्य चौकीका प्रमुख पुष्पराज ठाकुरले स्वास्थ्य चौकीले नागकिरमैत्री सेवा तथा सुविधाहरु सहज रुपमा प्रवाह गरेको दावी गर्नुभयो । वडामा वृहत स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले ९८ प्रकारका औषधीहरु निशुल्क रुपमा वितरण गरिरहेको जानकारी गराउनुभयो । सुत्केरी पश्चात तथा खोपको लागि घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्य गरिरहेको उल्लेख गर्दै उहाँले वडामा एम्बुलेन्सको सेवा भने नभएको बताउनुभयो ।

त्यस्तै नगरपालिकाका योजना प्रमुख जनक न्यौपानेले आधुनिक विकास र विस्तारको क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कङ्क्रिटलाई कम गर्ने कार्यको शुरुवात भइरहेको जानकारी गराउनुभयो । कङ्क्रिटको ठाउँमा ब्लक राख्ने कार्यलाई बढावा दिइरहेको उल्लेख गर्दै उहाँले सडक बक्तिको लागि वडामा नै फोकल पर्सन तोकिएकाले सोही व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यस्तै सडक कालोपत्रे गर्नुपूर्व ढल बनाउन उपर्युक्त हुने भएकाले सोही अनुसार योजना अगाडी बढाइरहेको उल्लेख गर्नुभयो ।

जवाफमा वडाध्यक्ष पुष्पराज बस्नेतले आफु निर्वाचित भएपश्चात चार वर्षमा करिव १५० करोड रकम बराबरको पूर्वाधार विकास तथा अन्य सामाजिक कार्यहरु भएको जानकारी गराउनुभयो । सडक, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक, पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन लगायतका अन्य सामाजिक सेवा प्रवाहका कार्यहरु गरी जनताको माग, चाहना र आवश्यकताका आधारमा संघ, प्रदेश तथा पालिकाबाट बजेट व्यवस्थापन गरि जनताको तिव्र विकास र समृद्धिप्रतिको चाहनालाई सक्दो पुरा गर्ने प्रयास गरेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय भने संघ सरकारले वडामा कुनै पनि बजेट नदिएको समेत उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो कार्यकालपछि वडामा ४ वटा पुल, ३ वटा ट्रष्ट पुल, वडाका मुख्य मुख्य सडकहरुको निर्माण, कालोपत्रे, ढलान तथा ग्राभेल विच्छ्याउने कार्यहरु भइरहेका छन् । त्यस्तै सामुदायीक भवनको निर्माण, शान्ति सुरक्षालाई मध्यनजर गर्दै ५५ वटा चोकमा सीसी क्यामेर जडान गरेका छौं भने ४ स्थानमा प्रहरी विट स्थापना गरेका छौं, जेनजी आन्दोलनपछि पूर्ण रुपमा ध्वस्त भएका प्रहरी चौकीको पुनःनिर्माण गरेका छौं । त्यस्तै धार्मिक, संस्कृतिक, सम्पदा संरक्षण, मन्दिर निर्माण, गुम्बा, पाटीपौवाको स्तरउन्नती गरेका छौं भने विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाहरुलाई सामग्री वितरण गरी संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिएका छौं ।’

पौराणीक तथा परम्परागत नामलाई संरक्षण गरिएको जानकारी गराउँदै उहाँले सामुदायीक वन संरक्षण, पार्क निर्माण, खेलमैदान निर्माण, ओपन जिम निर्माण तथा स्तरउन्नतीका कार्यहरु भइरहेको जानकारी गराउनुभयो । सामुदायीक विद्यालयमा आधुनिक प्रविधिको अध्यापन गराउन एआईको पाठ्यक्रम समेत तयार गर्ने क्रममा रहेको उल्लेख गर्दै उहाँले योगको माध्यमबाट नागरिकलाई निरोगी बनाउने कार्यलाई समेत व्यापकमात्रामा बढावा दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानसिक स्वास्थ्य तथा तनाव विसर्जनका कार्यहरुलाई टेवा पुर्याइरहेका छौं । युवा, महिला सशक्तीकरण, वालवालिका तथा जेष्ठ नागरिकको लागि आवश्यक बजेट व्यवस्थापन गरेका छौं । गोठ–गोठमा, खेत–खेतमा प्राविधिक पुर्याउने अभियान चलाइरहेका छौं । जसको लागि दुई वटा कृषि सडक स्तरउन्नती भइरहेको छ । उद्योग घर बनेको छ । त्यसको लागि कार्यविधी समेत तयार भइसकेको छ । त्यस्तै कोशेली घर, होमइस्टे सञ्चालन गरी आयआर्जको माध्यमलाई बढावा दिइरहेका छौं, रोजगारीको लागि एक कदम अगाडी बढेका छौं ।’

एक घर, एक खानेपानीको अवधारणा अनुसार वडामा कार्यहरु भइरहेको उल्लेख गर्दै उहाँले वडामा रहेका खानेपानीको स्रोतले नगरपालिका मात्र नभई भक्तपुर जिल्लालाई नै पुग्ने स्रोत रहेको दावी गर्नुभयो । वडामा रहेको खानेपानीको स्रोत व्यवस्थापन गर्न जरुरी रहेको औंल्याउँदै उहाँले खेलकुद र सार्वजनिक यातायातको व्यवस्थापन भएको बताउनुभयो । चार वर्षमा नगरपालिकाबाट ५० करोड बराबरको बजेट प्राप्त भई विकासका कार्यहरु भएको जानकारी दिँदै उहाँले चालु आर्थिक वर्षमा नगरपालिकाबाट १२ करोड बराबरका योजनाका कार्यहरु गरिएको बताउनुभयो । जंगली जनावरहरुको संरक्षण प्राणी उद्यानबाट हुनुपर्नेमा जोड दिँदै उहाँले उक्त उद्योनको क्षेत्राधिकार संघीय सरकारको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ आलोनात्मक समर्थन नै अगाडी बढ्ने मुख्य माध्यम हो । कमजोरि देखाउने मात्र नभई सुधारात्मक हुनुपर्छ । विकासको मन्दिर बन्यो, अब गजुर राख्नमात्र बाँकी छ । तर मूल्य वृद्धि र अमेरिका–इरानबीचको युद्धका कारण सामग्री अभावका कारण समस्या उत्पन्न भएको छ । डोलेश्वर मन्दिरमा करिव १९ करोड बराबरको भौतिक तथा अन्य विकास भएको छ । जसले नेपालको मात्र नभई विदेशीहरुको नै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ ।’

संस्थाका अध्यक्ष पेशल कुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सावित्री मिश्र, वडा सदस्य अन्जना नेपाली, विक्रम तामाङ, सुपरभाइजर निराजन थापा, डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । बजारमा लिचीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज एकैदिन

काठमाडौँ, २ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, २ असार । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

काठमाडौँ, २ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।