एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरुलाई तोकियो जिम्मेवारी

काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको शाख फर्काउदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारी सहित मिसन जागरण अभियानको विस्तृत व्याख्या सहितको कार्ययोजना पठाएको छ ।

पार्टीका सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारी सहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समिक्षा,पार्टीले हार व्योहोर्नुका कारण,कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रुपमा केलाइएको छ । मुख्य गरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहीत भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको पार्टीले पठाएको दस्तावेजमा उल्लेख गरिएको छ । ‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश बैकल्पिक शक्तितर्फ आकर्षित भएको हो’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ ‘आकस्मिक रु अस्वभाविक रुपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रुपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’

पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठक्याइ छ । जसका कारण भदौ २३ र २४ गतेका विध्वंसकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरुले वर्तमान राजनीतिको पृष्ठभूमी, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होउन भन्ने उद्धेश्यले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको बताए ।

उनका अनुसार पार्टीका नेताहरु विगत देखिको राजनीतिक उतार चढाव,निर्वाचन पछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशा बारे स्पष्ट भएर उनीह्रुले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने पार्टी केन्द्रले सोचेको बताए । ‘पार्टी केन्द्रले पठाएको दस्तावेज सबै कमरेडहरुले विस्तृत अध्ययन गर्नुुहुनेछ । पार्टी कमजोर हुनाका कारण,देशी विदेशीको चलखेल,निर्वाचनमा एमाले विरुद्ध अल्गोरिदमको प्रयोग जस्ता विषयहरु विस्तृत रुपमा व्याख्या गरिएको छ’ आचार्यले भने ‘एमालेले अब गर्नुपर्ने डिजिटल वार,त्यसको प्रयोग र जनतासँगको सम्बन्ध सुधार तथा कमिटी प्रणाली सञ्चालनका विधि समेत उल्लेख गरेर मिसन जागरणको डकुमेन्ट पठाएका छौं ।’

जनतासँगको सम्बन्ध सुधारका लागि एमालेले ‘६ ज’को नीति अघि सारेको छ । जस अनुसार ‘जनतामा जाऔं,जनताका कुरा सुनौं,जनप्रिय बनौं,जनसंगठन परिचालन गरौं,जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिष्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं ।’ एमालेको दस्तावेजमा उल्लेख गरिएको छ ।

एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको छ । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ । उसले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ ।

३१ पेजको सो अवधारणाा पत्रमा पार्टीका नेताहरुको जिम्मेवारी तोकिएको छ । प्रमुख आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरुलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरु स्थलगत रुपमा खटेका छन् कि छैनन भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ । केन्द्रबाट खटिने नेताहरुलाई होटलमा भन्दा जनताको घरमै बस्न आग्रह गरिएको आचार्यले बताए । आचार्यका अनुसार यो अभियान र जिम्मेवारी आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष