एजेन्सी, २९ जेठ । अमेरिकामा आयात महसुललाई लिएर चलिरहेको कानुनी लडाइँका बीच ट्रम्प प्रशासनले ठूलो राहत पाएको छ ।
वासिङ्टनस्थित संघीय पुनरावेदन अदालतले अन्तिम कानुनी प्रक्रिया पूरा नभएसम्म अमेरिकी सरकारले विश्वभरबाट आयात हुने सामानमा लगाएको १० प्रतिशत ट्यारिफ (भन्सार शूल्क) असुली जारी राख्न सक्ने निर्णय सुनाएको हो ।
अदालतको यस फैसलाले ट्रम्प प्रशासनलाई हालका लागि आफ्नो व्यापार नीति लागु गर्न बाटो खुला गरेको छ ।
गत महिना खमेरिकाको न्युयोर्कस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतले साना व्यवसायीहरूको समूहद्वारा दायर गरिएको मुद्दामा सुनुवाइ गर्दै उक्त ट्यारिफलाई अवैध ठहर गरेको थियो । अदालतको बहुमत इजलासले राष्ट्रपतिले आफ्नो अधिकारको सीमाभन्दा बाहिर गएर यो निर्णय गरेको निष्कर्ष निकालेको थियो । अदालतले ट्यारिफ लगाउने कदम कानुनद्वारा स्पष्ट रूपमा अनधिकृत नभएको उल्लेख गरेको थियो ।
तर, पुनरावेदन अदालतले आफ्नो आदेशमा ट्रम्प प्रशासनका तर्कहरू प्रारम्भिक रूपमा बलियो देखिएको र अन्तिम सुनुवाइमा सरकारको पक्षमा निर्णय आउन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ । यही आधारमा अदालतले अन्तिम फैसला नआएसम्म भन्सार असुली जारी राख्न अनुमति दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष फेब्रुअरीमा विश्वका अधिकांश देशबाट आयात हुने उत्पादनमा १० प्रतिशतको अस्थायी ट्यारिफ लागु गरेका थिए । यो निर्णय सन् १९७४ को ‘ट्रेड एक्ट’को धारा १२२ अन्तर्गत गरिएको थियो । उक्त व्यवस्थाअनुसार राष्ट्रपतिले सीमित अवधिका लागि अधिकतम १५ प्रतिशतसम्म विश्वव्यापी आयात महसुल लगाउन सक्छन् । तर, यसको अवधि अधिकतम १५० दिनसम्म मात्र रहने भएकाले त्यसलाई थप निरन्तरता दिन अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक पर्छ ।
कानुनी विज्ञहरूले यो विवाद अन्ततः अमेरिकी सर्वोच्च अदालतसम्म पुग्न सक्ने बताएका छन् । त्यसो भएमा, त्यहाँबाट आउने निर्णयले अमेरिकाको व्यापार नीति र राष्ट्रपतिको आर्थिक अधिकारको सीमाबारे दीर्घकालीन प्रभाव पार्न सक्ने उनीहरूको अनुमान छ । एपी






