काठमाडौँ, २६ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाख) सम्म आइपुग्दा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ५.०४ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि बढेको हो । अघिल्लो वर्ष वैशाखमा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत मात्र रहेको थियो । यद्यपि, चालु आर्थिक वर्षको १० महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने २.६६ प्रतिशतमा सीमित रहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि बढी देखिएको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।
खाद्य समूहअन्तर्गत फलफूलमा १८.६० प्रतिशत, घ्यू तथा तेलमा १३.९९ प्रतिशत र तरकारीमा ५.४० प्रतिशतले मूल्य बढेको छ । भौगोलिक क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी मूल्यवृद्धि तराई क्षेत्रमा देखिएको छ । वैशाख महिनामा तराईको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ ।
त्यसैगरी, काठमाडौँ उपत्यकामा ४.९० प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ३.७३ प्रतिशत मूल्यवृद्धि रहेको छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी देखिएको छ, जहाँ सहरी क्षेत्रको मुद्रास्फीति ५.२९ प्रतिशत रहँदा ग्रामीण क्षेत्रको ४.३५ प्रतिशत रहेको छ।






