अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते

एजेन्सी, २४ जेठ । अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

टोलेडो प्रहरी विभागका उपप्रमुखका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई जना व्यक्तिले एकअर्कातर्फ गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा आयोजना हुँदै आएको वार्षिक सामुदायिक उत्सवको आसपास भएको बताइएको छ । उक्त उत्सवमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका थिए ।

गोली चलेपछि उत्सवस्थलमा उपस्थित सर्वसाधारणमा त्रास फैलिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार अचानक गोलीको आवाज सुनिएपछि मानिसहरू ज्यान जोगाउन चारैतिर भागेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका केही दृश्यहरूमा मानिसहरू भागदौड गरिरहेको तथा आपत्कालीन सेवाका कर्मचारीहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिएको छ ।

घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले आफू साथीहरूसँग सांगीतिक कार्यक्रम हेरिरहेका बेला लगातार गोली चलेको आवाज सुनेको बताए । उनका अनुसार गोली चलेपछि सबैजना भुइँमा पल्टिएका थिए । केही समयपछि उनले आफू नजिकै एक हतियार फालिएको देखेका थिए । उत्सवको सुरक्षाका लागि त्यहाँ खटिएका प्रहरीहरू तत्काल घटनास्थलमा पुगेका थिए ।

ओहायोका गभर्नरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै गर्मीयामका सामुदायिक उत्सवहरू परिवार र बालबालिकाका लागि सुरक्षित स्थान हुनुपर्ने बताए । उनले हिंसात्मक घटनाले समुदायमा असुरक्षा र त्रास फैलाउने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धानको अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्