काठमाडौँ, १८ जेठ । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली पुगेको छ ।
एसएसपी विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट आइपुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर खड्काले जानकारी दिए ।
उनका अनुसार, दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न टोली आएको हो । घटना भएको क्षेत्र लाम्पाटा, च्याचौर क्षेत्र पुगेर टोली सिमकोट आइपुगेको छ ।
टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम छ ।
यही जेठ २ देखि ४ गतेसम्म सीमाका विषयमा हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्ररूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो ।






