भक्तपुर, १४ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ८ मासार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज वडा नं. ८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा जनताको चासो, गुनासो, समस्या तथा समाधानको उपायसहितको भावी योजनाहरुको बारेमा विस्तृत जानकारीमूलक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । नागरिकको आशा र सिर्जनात्मक दिशानिर्देशलाई रचनात्मक तथा प्रभावकारी रुपमा नागरिक उपयोगी हुनुपर्नेमा जोड दिइयो । स्थानीय चुनौती, सुशासन र समस्या तथा समाधानको उपायहरुको खोजिको रुपमा समेत उक्त कार्यक्रमलाई लिइएको छ । कार्यक्रममा वडामा निर्वाचित जनप्रतिनिधिले ४ वर्षको समिक्षा, सुझाव, असल अभ्यासका रचनात्मक तथा सकारात्मक प्रश्न, सुझाव तथा समस्याहरु लिइएको थियो । स्थानीय सरकार जनताको जीवनसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जनताको माग र चाहना अनुसार कार्यसम्पादन हुनुपर्नेमभा जोड दिइयो ।
कार्यक्रममा वडा सचिव राजकुमार गिरीले वडा क्षेत्रमा भइरहेका कार्यसम्पादन तथा गतिविधिहरुको बारेमा विस्तृतमा विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार वडामा चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरु ११९ वटा रहेका छन् भने ७२० जना नागरिकले सामाजिक सुरक्षाभत्ता लिइरहेका छन् । वडामा भइरहेका प्रशासनिक तथा भौतिक विकासको विवरण प्रस्तुत गर्दै उहाँले चालु आवमा एक रोड ६० लाख ७६ हजार सात सय ४५ रुपैंया राजस्व संकलन भएको जानकारी दिनुभयो । वडामा युवा, महिला, अपाङ्गता, वालविवाह, जेष्ठ नागरिक, प्रहरी साझेदारीलगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको जनकारी गराउँदै उहाँले जेष्ठ नागरिकलाई धार्मिक तथा सांस्कृतिक भ्रमण, डिजिटल अभिमुखीकरण, जनचेतनामूलक सडक नाटक लगायतका सचेतनामूलक कार्यहरु भएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित भएका स्थानीयवासीले वर्तमान जनप्रतिनिधि धन्यवादको पात्र भएको बताए । जनताको असिमित चाहना र मागलाई मध्यनजर गर्दै सिमित स्रोत र साधनका बिच पनि न्युनतम आवश्यकता पुरा भएको उल्लेख गर्दै अब दिगो विकास र समृद्धिको स्थायी आधार तयार पार्नुपर्नेमा जोड दिए । शिक्षालाई हबको रुपमा विकास गर्ने वडाको दिर्घकालिन योजना उत्कृष्ट रहेको उल्लेख गर्दै सहभागीहरुले शिक्षक–शिक्षिकालाई उत्प्रेरणा कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए । शनिवार र आइतबार विदा दिने निर्णयलाई पुर्नविचार गर्न समेत आग्रह गरे । उनीहरुले प्राइभेटलाई पोस्ने र सामुदायीकलाई झोस्ने प्रकारका विभेदकारी निर्ण गर्नु नहुनेमा सचेत गराए । विद्यालयको स्कुल बस चलाउनुपर्नेमा समेत जोड थियो । विद्यालयमा व्यवहारिक शिक्षालाई जोड दिनुपर्नै माग गर्दै सहभागीले नैतिक शिक्षा अनिवार्य गर्न आग्रह गरे । त्यस्तै मनोमानि रुपमा शिक्षक सरुवा गर्नु नहुनेमा सचेत गराउँदै चालु शैक्षिक सत्रमा सरुवा नहुने व्यवस्था गर्न आग्रह गरे । अपाङ्गता भएका व्यक्तिले पढ्न पाउने ग्यारेन्टी गर्नुपर्ने उल्लेख गर्दै उचित बजेट तथा कार्यक्रम ल्याउन आग्रह गरे । त्यस्तै वृद्धभत्तालाई घरघर वितरण गर्ने व्यवस्था गर्न आग्रह गरे ।
खोलामा प्लास्टिक तथा अन्य फोहोरहरु फाल्ने गरेकाले वातवरण प्रदुषण भइरहेको प्रति सचेत हुन आग्रह गर्दै जनताको सफा र सुन्दर वातावरणमा जीविकोपार्जन गर्ने नैसर्गिक अधिकारलाई वडाले विशेष ध्यान दिन जरुरी रहेको औंल्याए । फोहोर संकलनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै फोहोरको अनिवार्य सदस्य बन्न बाध्यकारी व्यवस्था गर्न आग्रह गरे । त्यस्तै विभिन्न भ्लगर तथा आवाजका कारण ध्वानी प्रदुषण समेत वडामा बढ्दै गइरहेको प्रति वडालाई सचेत गराउँदै स्थानीयवासीले टनेल खेतीमा अत्याधिक विषादी प्रयोग हुने भएकाले अकालमै रोगका कारण मृत्युवरण गर्नुपर्ने डरलाग्दो अवस्थालाई समयमा नै न्युनिकरण गर्न सुझाव दिए ।

१० हजार हाराहारी जनसंख्या रहेको वडामा करिव ८ हजार रोपनी सार्वजनिक जग्गा रहेको विवरण प्रस्तुत गर्दै वडावासीले त्यसको संरक्षण र सम्वद्र्धमा वडाले तीन वटै तहसँग समन्वय गरी सिमांकन गर्न जोड दिए । त्यस्तै वर्षैदेखी सडक सञ्चालन भइरहेको स्थानहरुमा लगत कट्टा गरी जनतालाई करको बोझबाट मुक्त गराउनुपर्ने माग राख्दै उनीहरुले अव्यवस्थित जग्गा प्लानिङकर्ताले सार्वजनिक तथा सडकहरुलाई समेत मिचेर जनतामाथी अत्याचार गरेको गुनासो गरे ।
नगरपालिकालाई नै देशकै पहिलो योगमैत्री घोषणा गरिसकेको अवस्थामा योगाको लागि हल तथा बजेट विनियोजन गर्न आग्रह गर्दै सहभागीहरुले पुरातात्विक सम्पदा, मठमन्दिर, पाटीपौवा, ढुंगेधारा, पानीको मुहान लगायतका क्षेत्रहरुको संरक्षण तथा उचित व्यवस्थापन गर्न वडाले विशेष मास्टरप्लान बनाई अगाडी बढ्न सुझाव दिए । विगतका भएका निर्णयहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सहभागीले कृषिका लागि मल व्यवस्थापन गर्न जोड दिए ।
सडकको स्तरउन्नती, पुलको विकास र विस्तार, खेलमैदान (फुटसल)को व्यवस्थापन, निशुल्क एम्बुलेन्स सेवाको माग गर्दै सडकमा टिपर तथा अत्याधिक गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न आग्रह गरियो । इट्टा भट्टाका कारण अत्याधिक प्रदुषण बढेकाले उचित तथा प्रभावकारी व्यवस्थापन गर्न जोड दिइयो । वडामा सञ्चालनमा रहेका सहकारीलाई सामाजिक कार्यमा जोड्नुपर्नेमा जोड दिँदै बस्तीको नजिक कुखुरा तथा बंगुर पाल्न पाउने कि नपाउने ? भनि प्रश्न गरे । कतिपय सडकहरु मापदण्डभन्दा फरक बनेको तथ्यहरु सार्वजनिक गर्दै सहभागीहरुले सडक निर्माणलाई पूर्णता दिनुपर्ने माग राखे ।
रञ्जितकार टोलमा एम्बुलेन्स समेत जान नसक्ने अवस्थाको सडक रहेको गुनासो गर्दै उक्त स्थानमा सडक बत्ती, जिर्णरहेको पुलको पुनः निर्माण गरिदिन माग गरे । शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा गर्व गर्न लायक कार्य भएको उल्लेख गर्दै जनताको माग, चाहना र आवश्यकता अनुसार एकीकृत खानेपानी आयोजना सञ्चालन गरी विभेदकारी अहिलेको अवस्था अन्त्य गर्न माग गरे । विकास गरिएका योजनाहरु समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै निर्माण सम्पन्न पश्चात पनि संरक्षण गर्न तदारुकता देखाउन माग गरे । सडक वस्ती विकास गर्न मात्र गरिएको गुनासो गर्दै सहभागीले अघिल्लो कार्यकालमा भएका योजनाहरुको वास्तविकिकरण गर्न माग गरे । कतिपय कार्यहरुमा सेटिङ्का माध्यमबाट हुने गरेको गुनासो समेत गरे ।
जवाफमा प्रहरी प्रभाव सुडालका प्रमुख दिपक श्रेष्ठले बालकुमारी–जितपुर सडकमा तिव्र गति र ध्वानी प्रदुषण भएको भए त्यसको न्युनिकरण गर्ने प्रतिवद्धता जनाउँदै सो सडकमा सक्रियता बताउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा स्थानीयले नै सडक अनुशासन पालना गर्नुपर्छ । हाम्रै कारणले सडक दुर्घटना भइरहेको छ भने बुझ्नुपर्छ । रातको समयमा टिपर कुदाउन पाउने नीतिगत निर्णय भएकाले त्यसलाई हामीले रोक्न सक्दैनौं । तर कसैले डर, त्रास तथा धम्की दिए तत्काल खबर गर्नुस्, हामी कारवाही गर्छौ । दुर्घटना न्युनिकरण गर्द आफ्नो घर–घरमा सीसी क्यामेरा जोड्नस्, जुन सडक तर्फ फर्काउनुस्, जसले गर्दा हामीलाई सडक दुर्घटना न्युनिकरणमा विशेष सहयोग पुग्नेछ ।’
वडासदस्य प्रलाद दुलालले जनताको सेवामा घरदैलो नै आफ्नो जीवनी जस्तै भएको उल्लेख गर्दै विकास निर्माणमा जनताको सहभागिता सवैभन्दा बढि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले फोहोरको सदस्यता अनिवार्य गर्नुपर्नेमा जोड दिँदै भविष्यमा विकरण समस्या आउनबाट अहिलेदेखी नै रोक्नुपर्नेमा जोड दिनुभयो । ‘साना विकासका कार्य गर्न उपभोक्ता समिति बनाउनुपर्छ, त्यसको लागि नागरिकको उपस्थिती समेत नभएर समिति नै बन्न नसकेका घटनाहरु छन्, जसले गर्दा बजेट कार्यान्वयन हुँदैन’ उहाँले भन्नुभयो, ‘स्थानीयवासीलै जागरुक हुनुपर्छ, हामीलाई घच्घच्याउनुपर्छ ।’
जनताको मूल्याङ्कं नै जनप्रतिनिधिको उपलब्धी भएको उल्लेख गर्दै वडा सदस्य हरिगोपाल श्रेष्ठले विकास निर्माण तथा अन्य सम्पूर्ण कार्यहरु गर्न तीनवटै तहका सरकारको समन्वय अनिवार्य रहेको बताउनुभयो । त्यस्तै अर्का वडासदस्य अनिता परियारले सार्वजनिक सुनुवाई कम्तिमा वर्षको एक पटकमात्र भएपनि जनप्रतिनिधिहरुको आँखा खुल्नेमा सचेत गराउँदै सुनुवाईले अझबढी जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । महिला, युवा, जेष्ठ नागरिकलाई वडाले तालिम दिइएको भएपनि अझ बढि थप गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै तालिमले आत्मनिर्भर बताउने उहाँको तर्क थियो । तालिमलाई व्यवहारिक जिवनमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भौतिक विकाससँगै रोजगारी जोड्नुपर्ने धारणा राख्नुभयो ।
जवाफ दिँदै वडाध्यक्ष जनक खत्रीले जनतको मत र मनलाई सम्मान गर्दै निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार नै कार्यसम्पादन भइरहेको दावी गर्नुभयो । वडामा शिक्षा, स्वास्थ्य, सडक, फोहोरमैला व्यवस्थापन लगायतका कार्यहरुलाई उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले विकासन्मुख राष्ट्रको पहिलो प्राथमिकता नै भौतिक विकास भएकाले सोही अनुसार कार्य भइरहेको बताउनुभयो । ९ करोडको लागतमा ताथलीदेखी सुडालसम्मको फास्ट ट्र्याक सडक जोडिएको जानकारी गराउँदै उहाँले वडामा यातायात सञ्चालनलाई क्रमिक रुपमा समस्या समाधान हुँदै गएको दावी गर्नुभयो । आफ्नो ४ वर्षे कार्यकालमा १५ किलोमिटर कालोपत्रे कार्य भइसकेको जानकारी गराउँदै उहाँले ५ किलोमिटर टेण्डर भइ निर्माणको चरणमा रहेको बताउनुभयो ।
जीतपुर र सुडाल खानेपानी आयोजनले २२ सय घरपरिवालाई खानेपानी वितरण गरिहेको उल्लेख गर्दै उहाँले डिपबोरिङको माध्यमबाट पनि खानेपानी उपलब्ध गराइएको बताउनुभयो । हाल बोजेनी ड्यामबाट सिँचाइको लागि मात्र प्रयोग भइरहेकोमा आगामी दिनमा शुद्धिकरण वा फिल्टर गरी खानेपानी वितरण गर्ने योजना रहेको बताउनुभयो । विद्यालयमा राजनीतिको गन्ध नै आउने नदिएको स्पष्ट पार्दै उहाँले वडालाई शिक्षाको हब बनाउने आफ्नो योजना रहेको बताउनुभयो । वडामा भौतिक विकासको साथमा सामाजिक विकासलाई विशेष ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले युवा, बालवालिका, महिला, जेष्ठ नागरिकमैत्री कार्यक्रमहरु व्यापक मात्रामा सञ्चालन भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘फोहोर फाल्नेलाई सचेतनाले मात्र नहुने रहेछ भन्ने महशुस भइरहेको छ । अबका दिनमा फोहोर फाल्नेलाई कारवाहीका डण्डा चलाउनुपर्ने बाध्यता बनेको छ । सार्वजनिक जग्गा रोक्न कानुन अनुसारका कार्यहरु गर्नेछौं । कसैले पनि कब्जा गर्न पाउने छैन । प्राविधिक समस्याका कारण केही ढिलाई भएको हो, अब रोकिदैन । बैंकिङ प्रणालीका माध्यबाट सामाजिक सुरक्षा भक्ता विारण गर्ने नीति नै भएका कारण घरघरमा पुर्याउन नसकिएको हो । त्यस्तै वडामा कुनैपनि टनेलखेतीलाई स्वीकृति दिइएको छैन । अत्याधिक विषदी प्रयोग गरेको भन्ने कुरा आएको छ, जसलाई आबका दिनमा वडाले एक्सनमा काम गर्छ, नियमन गर्छ ।’
आवास क्षेत्रमा सरकारले मल नपठाउने उल्लेख गर्दै उहाँले योगको लागि सार्वजनिक हल व्यवस्थापन गर्ने र उचित बजेट पनि उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । माधवनारायण सडकमा समन्वय नहुँदा बजेट फ्रिज भएको जानकारी गराउँदै उहाँले मापदण्डभन्दा विपरित पूर्वाधारको निर्माणलाई कारवाही गर्नु प्रतिवद्धता जनाउनुभयो । राष्ट्रिय नीति नै दुई दिन विदा दिने भएकाले नगरपालिकाले बाध्य भएर निर्णय गरेको जानकारी गराउँदै उहाँले सीसी क्यामेरा राख्न भौगोकिल समस्या, गाडीले तार चुडाईदिने, इन्टरनेट जस्ता प्राविधिक समस्याले अपेक्षाकृत कार्य हुन नसकेको स्वीकार गर्नुभयो । आगामी दिनमा सार्वजनिक भवनहरुमा राख्ने प्रतिवद्धता जनाउनुभयो । सकड बत्ती बापत प्रत्येक घरबाट वार्षिक ५० रुपैंया लिने गरिएता पनि अत्याधिक विल उठ्ने गरेकाले भक्तुनिमा समस्या आइरहेको जानकारी गराउँदै उहाँले जे भएता पनि समस्या समाधान गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
विकासमा राजनीति नहुने उल्लेख गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिलाई विशेष व्यवस्था गरी शिक्षाबाट बाहिर हुन नदिने प्रतिवद्धता जनाउनुभयो । एम्बुलेन्स सेवा नियमित रहेको उल्लेख गर्दै उहाँले खेलमैदानको लागि आवश्यक जग्गा उपलब्ध गराउन पहले गर्ने बताउनुभयो । अहिले भएको जग्गामा मानव अंग प्र्रत्यारोपण केन्द्र बनाउन पहल भइरहेको जानकारी गराउँदै उहाँले इट्टा भट्टाको समस्या संघीय सरकारले गर्ने भएकाले सोही अनुसार वडाले सहयोग गर्ने बताउनुभयो ।
पुल तथा सडकको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै उहाँले शिक्षक सरुवामा आगामी दिनमा समस्या नआउने गरी काम गर्न समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै व्यवसायमा अनुगमन र व्यवस्थापनमा वडाले तिव्रता दिने बताउनुभयो । संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यस्तै सल्लाहकार दिवस गुरागाँईले विषय प्रवेश गराउनुभयो भने सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ८० जनाभन्दा बढी स्थानीयवासीको सहभागिता रहेको थियो ।






