एजेन्सी, १४ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक विभाजन र युद्धका कारण अन्तर्राष्ट्रिय कानुनप्रतिको सम्मानमा खतरनाक गिरावट देखिएको भन्दै चेतावनी दिएका छन् ।
उनले सार्वभौम समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता तथा बल प्रयोगको निषेधजस्ता मूल सिद्धान्तलाई चुनौती दिइँदै वा बेवास्ता गरिँदै गएको पनि बताएका छन् ।
नियमहरूको उल्लंघन गरिँदा पनि जवाफदेहिता नदेखिएको तथा दण्डहीनता बढ्दै गएको उनले उल्लेख गरे । राष्ट्रसंघको बडापत्र शान्तिका निम्ति मानवताको सबैभन्दा ठूलो र उत्तम आशा भएको उनले बताए । तर, यसको प्रभावकारिता कायम राखिनुपर्नेमा उनले जोड दिए ।
उनले भूराजनीतिक विभाजन गहिरिँदै गएको, अविश्वास बढिरहेको तथा साझा सहमति निर्माण गर्न झन् कठिन बन्दै गएको चेतावनी दिए । गुटेरेसले सुरक्षा परिषद् अक्सर एकता र साझा उद्देश्यका साथ काम गर्न असफल हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, “जब सुरक्षा परिषद् विभाजित हुन्छ, त्यसको प्रभाव यो सभाकक्षभन्दा निकै टाढासम्म महसुस गरिन्छ ।”
उनले राष्ट्रसंघ स्थापना भएयताकै सबैभन्दा धेरै द्वन्द्वको सामना विश्वले गरिरहेको बताए ।






