भक्तपुर १३ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ७ मा जनताको चासो, गुनासो, समस्या तथा समाधानको उपायसहितको भावी योजनाहरुको बारेमा विस्तृत जानकारीमूलक सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज वडा नं. ७ को बागेहिणी माविको सभाहलमा भएको कार्यक्रममा नागरिकको आशा र सिर्जनात्मक दिशानिर्देशलाई रचनात्मक तथा प्रभावकारी रुपमा नागरिक उपयोगी हुनुपर्नेमा जोड दिइयो । स्थानीय चुनौती, सुशासन र समस्या तथा समाधानको उपायहरुको खोजिको रुपमा समेत उक्त कार्यक्रमलाई लिइएको छ ।
कार्यक्रममा बोल्दै वडाका वडा सचिव पुष्पराम लिवीले वडाको जनसंख्या तथा संस्थाहरुको विवरण, चालु अािर्थक वर्षमा भएका वडास्तरीय प्रगति विवरण, सामाजिक सुरक्षा भत्ता, सिफारिसहरुको विवरण प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस्तै चालु आवमा ८८ वटा योजनाहरु स्वीकृत भएको जानकारी गराउँदै उहाँले ७८ वटा सम्झौता भएको र बाँकी १० वटा हुन बाँकी रहेको जानकारी दिनुभयो । त्यस्तै ५८ वटा निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै उहाँले पाँच वटा निर्माणको चरणमा रहेको उल्लेख गर्नुभयो । वडामा एक करोड चार लाख ६८ हजार छ सय २६ रुपैंया राजस्व संकलन भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागीहरुले वडाले जनताको अपेक्षाहरु पूर्ण रुपमा पुरा नगरेपनि अपेक्षाकृत रुपमा काम गरेको, धार्मिक स्थलहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने, बालाफाट सिँचाई आयोजना चालु आवमा नै निर्माण सम्पन्न गर्नुपर्ने, तीन वटा विद्यालयहरु किन घटुवा गरियो ? सम्बन्धित विज्ञसँग र सरोकारवालासँग पर्याप्त छलफल नै नगरि किन यस्तो निर्णय लिइयो ? बालवालिकाको चिन्ता किन गरिएन ? गुणस्तरीय शिक्षा किन भएन ? सामुदायीक विद्यालयमा किन राजनीतिकरण गरियो ? शैक्षिकसत्र सञ्चालन भइरहेको समयमा किन शिक्षक, शिक्षिका सरुवा गरिन्छ ? शैक्षिक सत्र भरि सरुवा नहुने व्यवस्था गर्नु पर्यो, पञ्चकन्या र भिमसेन मन्दिर सार्ने प्रयास किन भइरहेको छ ? त्यो सार्ने योजना बन्द गर्नुपर्यो, वडाको वातारणलाई हरियाली बनाउनुपर्ने, आयोजना शुरु भएता पनि निर्माण सम्पन्न भएन, तिनिहरुलाई चाँडै सम्पन्न गर्नुपर्ने, मुख्य नाका तथा सडममा सीसी क्यामेरा राख्नुपर्यो, एउटा कानले सुन्ने अर्को कानले उडाउने हुनु भएन, उचित समयमा राईट टु एक्सन हुनुपर्ने, फोहोर संकलनको सम्पूर्ण सदस्य बन्नुपर्ने, नियमित संकलन र व्यवस्थापन हुनुपर्ने, वातावरण प्रदुषण नियन्त्रण गर्नुपर्ने, बनजंगल तथा त्यहाँको पानीको संरक्षण हुनुपर्ने, नगरपालिकाले निर्णय गरेका कुराहरु कार्यान्वयन हुनुपर्ने, गुणस्तरहिन विकास निर्माणका कार्य भए, त्यसको प्राविधिक परीक्षण किन भएन ? ढललाई खोलामा हाल्नबाट रोक्नुपर्ने, सार्वजनिक सुनुवाई ६–६ महिनामा हुनुपर्ने, नेपाल सरकारको पाठ्यक्रमले नै शिक्षामा सुधार हुन नसकेकाले पाठ्यक्रम समयसापेक्ष बनाउनुपर्ने, हुने खाने र हुँदा खोनेबीचको शैक्षिक प्रणाली अन्त्य हुनुपर्ने, सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा नै पढ्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने, समिति वा टोलसुधार समितिबाट वृहत सरसफाई कार्यक्रम गर्नुपर्ने, सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका, प्रदेश तथा संघीय प्रतिनिधि उपस्थित गराउनुपर्ने, वडाका योजनाको बजेट तथा अन्य सूचनाहरु सहज रुपमा पाउनुपर्ने, आयोजना दिगो विकासको लक्ष्य अनुसार तथा गुणस्तरीय हुनुपर्ने, नेतृत्वले अनुगमन तथा निरिक्षण गर्नुपर्ने, एकीकृत योजना लागु गर्नुपर्ने, कम्पोष्ट मल बनाउन जागरुक गर्नुपर्ने, बजेट चिनजानका आधारमा नभई आवश्यकताका आधारमा हुनुपर्ने, सडक निर्माणको नाममा भत्काइ नबनाइदा दुर्घटना बढ्यो, यसलाई रोक्नुपर्यो, विकासको नाममा जंगल फडानी अत्याधिक बढेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने, जेष्ठ नागरिकलाई बायोमेट्रीक ल्याप्चे अनिवार्य गर्दा समस्या आयो, जेष्ठ नागरिकको ल्याप्चे नआउने हुन्छ, त्यसलाई परिवर्तन गर्नुपर्यो, स्वास्थ्य चौकीमा सियो धागो सम्म छैन । समस्या कहिले सम्म भोग्ने ? दर्ता भएका खेलकुद संस्थाहरुलाई बजेट व्यवस्थापन गर्नुपर्ने, खेलकुदा सामग्री तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने, सम्मान कार्यक्रम गर्नुपर्ने, मुहानपोखरप्–खावा सडक जिर्ण भएको छ, बजेट कहिले आउँछ, कहिले बन्छ ? काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्यो, उज्यालो कर भने रु ५० लिने गरेता पनि उज्यालो हुने चाँही कहिले ? तरकारी संकलन केन्द्र स्थापना गर्नुपर्ने, छाडा चौपायलाई संरक्षण गर्नुपर्ने, १९५१ सालमा बनेको सडक अहिलेसम्म कालोपत्रे किन भएन ? बाटो स्तरउन्नतीको लागि बजेट विनियोजन हुँदा पनि प्रदेशका सांसदले नै किन रोके, मुद्दा लगाए ? सडक बन्द गरे तर त्यो सडक बन्नु पर्यो, समस्या समाधान हुनुपर्यो, वडा र नपाका जाप्रतिनिधिले म्युजिकल चेयर खेले जस्तो भयो, जस लिन होडबाजी गर्ने हुनु भएन, जेष्ठ नागरिक सम्मानका लागि विशेष कार्यक्रम ल्याउनुपर्यो, स्वास्थ्य उपचारमा ध्यान दिुनपर्यो, भत्ता घरघरमा पुग्ने व्यवस्था गर्नुपर्यो, जेष्ठ नागरिक मिलन चौतारीलाई पार्क तथा बाध्यबाधनका सामग्री व्यवस्था गर्नुपर्यो, सडकको लागत कट्टा गर्नु पर्यो, खानेपानी दुषित रहेकाले फिल्टर गरी वितरण गर्नुपर्ने लगायतका माग, गुनासो तथा प्रश्नहरु स्थानीयवासीले राखेका थिए ।

जवाफमा बागेश्वरी स्वास्थ्य चौकीका प्रमुख शयाम श्रेष्ठले बागेश्वरी अस्पतालमा उपचार तथा औषधी नपाएर फर्कनुपर्ने अवस्था नरहेको दावी गर्नुभयो । अस्पतालले दिने सेवाहरु नियमित रुपमा दिइरहेको जानकारी दिदै उहाँले औषधी अपुग भएता पनि व्यवस्थापन गरिरहेको बताउनुभयो । उपचारमा नगरपालिकाले तोके अनुसारको शुल्क लिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
वडाध्यक्ष श्याम कृष्ण नयाजु श्रेष्ठले पूर्वाधार, सुशासन, शिक्षा, स्वासथ्य, वातावरण, खानेपानीलगायतका जनताको माग र आवश्यकता अनुसारका कार्यहरु गरेको उल्लेख गर्नुभयो । सम्पदा संरक्षण गर्दै पहिचना झल्कने कार्यहरु भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिरहेका छौं । सोही अनुसार खानेपानी व्यवस्थापन गर्ने कार्य गरिहेका छों । बागेश्वरी खानेपानी आयोजनाबाट करिव ४०० जना घर परिवारलाई खानेपानी वितरण गरिरहेका छौं । मझुवा, गिरी टोल, सानो हलहले लगायतका खानेपानी आयोजनाहरु व्यवस्थित गर्ने क्रममा रहेका छौं । एकीकृत गरी स्रोत व्यवस्थापन गरिरहेका छौं । सकड बक्ती, उच्चस्तरीय सीसी क्यामेरा व्यवस्थापन, दुर्घटना न्युनिकरण, चोरी डकैतीमा कमि आएको छ । हिजो र आजकाले बुझ्ने र भोलीका पुस्ताले परिवर्तनको आभास हुने गरी काम गरिरहेका छौं । वडा भवन बन्ने क्रममा रहेको छ ।’
तीन वटा विद्यालय घटुवा भएकोमा आफु दुःखी रहेको उल्लेख गर्दै ती विद्यालयलाई घटुवा हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उक्त विद्यालयहरुलाई विपन्नदेखी सम्पन्न नागरिकले अध्ययन गर्ने विद्यालयको रुपमा स्थापित गर्ने उद्घोष गर्दै उहाँले सरकारी कर्मचारीका वालवालिकालाई सरकारी विद्यालयमा नै अध्ययन गर्न मौखि निर्देशन दिएको बताउनुभयो । बाध्यकारी भने नगरेको उहाँले स्वीकार गर्नुभयो । पञ्चकन्य र भिमसेन मन्दिरको संरक्षण र सम्वद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले उक्त क्षेत्रका सडकहरु निर्माण हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
सडक बत्ति निरन्तर बलिरहेको उल्लेख गर्दै उहाँले विग्रिएकालाई मर्मत तत्काल हुने गरेको बताउनुभयो । फोहोर व्यवस्थापन स्थानीय तहले नै गर्ने भएता पनि टोल समितिहरुले विशेष ध्यान दिन जरुरी रहेको औंल्याउँदै उहाँले सवै स्थानीयवासी सदस्य बन्न आग्रह गर्नुभयो । आगामी दिनमा सदस्य नबने वडाबाट पाउने सेवासुविधाबाट बञ्चित गराउने तयारी भइरहेको बताउनुभयो । सार्वजनिक जग्गा संरक्षण गर्न लगत संकलन भइरहेको जानकारी गराउँदै उहाँले राज्यको नीति अनुसार हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्माण कार्यमा गुणस्तरीय हुनुपर्छ । त्यस्तो कुनै कमजोरी भएको भए सूचना दिन आग्रह गर्दछु । त्यस्तालाई ठाउँको ठाउँ कारवाही हुन्छ । सार्वजनिक सुनुवाई पनि कम्तिमा ६–६ महिलामा हुनुपर्छ, त्यमा म दृढ छु । कतिपय अवस्थामा ठेकेदारले काम नगर्दा समस्या आएको छ भने कतिपय अवस्थामा अत्याधिक मूल्यवृद्धिका कारण समस्या उत्पन्न भएको छ । तर पनि रोकिएका आयोजनाहरु अब निरन्तरता दिइनेछ, सम्बन्धित निकायमा परिपत्र गरेका छौं । बनजंगलको संरक्षण सोही समितिले गर्नुपर्छ । जसको लागि आवश्यक सहयोग हुन्छ । संरक्षण नभएको भए उजुरी दिनुहोला, कारवाही हुन्छ ।’
खेलकुद क्षेत्रमा विगतदेखी नै बजेट व्यवस्थापन गरी खेलकुद सामग्री वितरण गरिरहेको जानकारी दिँदै उहाँले छालिङ–बागेश्वरीका दुई सडकमा पाँच÷पाँच करोड गरी जम्मा १० करोग बजेट शुनिश्चित भएकाले अब तत्काल बन्ने विश्वास दिलाउनुभयो । त्यस्तै उहाँले तरकारी संकलन केन्द्र बनाउने प्रयास गरिएता पनि बजेट अभावका कारण रोकिएको बताउनुभयो । जेष्ठ नागरिकको लागि आवश्यक सामग्री व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै उहाँले तालिम तथा सामुदायीक भवनहरु प्रयोग गर्न सकिने जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा वडा सदस्यहरु सीतादेवी लामिछाने, मनिता नेपाली, श्यामकाजी नयाँजु, पुस्कर खड्का लगायतका व्यत्तित्वहरु सहित स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।






