भक्तपुर, १२ जेठ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ मा सार्वजनिक वडा स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडाको फैढोकामा आज आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रमलाई नागरिकको आवाजलाई बुलन्द गर्ने र जनप्रतिनिधि तथा प्रशासनिक सेवालाई खबरदारी गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । नागरिकको आशा र सिर्जनात्मक दिशानिर्देशलाई रचनात्मक तथा प्रभावकारी रुपमा नागरिक उपयोगी हुनुपर्नेमा जोड दिइयो । स्थानीय चुनौती, सुशासन र समस्या तथा समाधानको उपायहरुको खोजिको रुपमा समेत उक्त कार्यक्रमलाई लिइएको छ ।
कार्यक्रममा वडाका सचिव सपना श्रेष्ठले वडाबाट हुने र भइरहेका आर्थिक, प्रशासनिक, पूर्वाधार, तथा भावी रणनीतिको बारेमा विस्तृतमा विवरण प्रस्तुत गर्नुभयो । उहाँले वडाको वस्तुस्थिती उल्लेख गर्दै भन्नुभयो, ‘चालु आवमा नीति तथा कार्यक्रमबाट स्वीकृत योजना ७६ वटा, सम्पन्न भइसकेका योजना ४४ वटा, सञ्चालनमा रहेका योजना ३२ वटा रहेका छन् । वडाले महिला, युवा, बालबालिका, जेष्ठ नागरिक सीप पुस्तान्तरण, कृषि तथा कला संरक्षणका कार्यक्रमहरु सञ्चालन गरेको छ । जसले तालिमकर्ता आत्मनिर्भर तथा रोजगारीको अवसर बनेको छ । त्यस्तै सम्पत्ति तथा भुमि कर तथा विविध आय गरी वडामा चालु आवमा दुई करोड ३३ लाख ३६ हजार एकसय तीन रुपैया रहेको छ ।’ उहाँले वडामा रहेका समस्या, सभाधानका उपायहरु, आगामी योजनाहरु समेत प्रस्तुत गर्नुभयो ।
त्यस्तै कार्यपालिका सदस्य कमला भारतीले जनता र जनप्रतिनिधिबीच मित्रवत सम्बन्ध स्थापित गर्दै वडालाई विकास र समृद्धिको बाटोमा अगाडी बढाएको बताउनुभयो । वडामा महिलाको लागि बजेट प्राप्त गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मखमी चुत्ता र फेसनका आधारभुत तालिम आयोजना गरेका छौं । अब एड्भान्स तालिमको आवश्यकता बढेको छ । सावुन, हर्पिक, फिनेल बनाउने ३५ जनाले तालिम लिनुभएको छ । जसले आज आर्जन तथा आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको छ । त्यस्तै हामीले लाईट गाडी, पञ्चेबाजा बजाउने तालिम दिइरहेका छौं ।’
कार्यक्रममा स्थानीयवासीले जनताले भोग्नु परेका समस्या, गुनासो, आवश्यकता र भावी योजना तथा रणनीतिहरुको बारेमा प्रश्न, चासो, गुनासो, सुझाव तथा मागहरु प्रस्तुत गरेका थिए । स्थानीयवासीले वडाबाट निर्णय भएका योजनाहरु रोकिनुको कारण, छिटो र प्रभावकारी कार्यान्वयन, वडाका योजना र रकम, योजनाको प्रगति, विकासको नाममा विनास रोक्नुपर्ने, अव्यवस्थित विद्युतका पोल तथा तारहरु व्यवस्थित गर्नुपर्ने, दुर्घटना न्युनिकरण, सडक नाली खुल्ला हुनुपर्ने, लागुपदार्थ आसोर प्रसार तथा सेवन रोक्नुपर्ने, अधुरो विकास अन्त्य गर्नुपर्ने, पारदर्शीता र जवाफदेहिता हुनुपर्ने, सीसी क्यामराको जडान तथा संरक्षण र मर्मत हुनुपर्ने, ऋण लिने सदस्यहरु सम्पर्कमा नआएकाले वडाबाट पाउने सुविधा रोक्नुपर्ने, ढल व्यवस्थापन, च्याम्हासिंह–नाला सडकको स्तरउन्नती हुनुपर्ने, यातायातको सहज व्यवस्थापन हुनुपर्ने, अव्यवस्थित भ्य टावरलाई व्यवस्थित र लक्षित उद्देश्य अनुसार सञ्चालन गर्नुपर्ने, मलको व्यवस्थापन र किसानलाई राहत दिनुपर्ने, उपभोत्ता समिति बन्ने तर काम नगर्ने भएकाले सो लाई कडाई गर्नुपर्ने, समुहको सदस्य बन्नलाई पाँच हजार लाग्ने भएकाले नहुनेहरुले आवद्ध हुन पाउने कि नपाउने ?, योजना असारको अन्त्यमा काम गर्ने नभई समयमा नै गर्नुपर्ने, कृषकलाई सिँचाई, मल, विउ, बजार, कृषि सडक हुनुपर्ने, वडामा सवैभन्दा कम बजेट किन आउने गरेको ?, स्थास्थ्य केन्द्रहरुमा आवश्यक औजार, औषधी, पोस्टर तथा अन्य व्यवस्थापकीय कार्य गर्नुपर्ने, भवन बन्न बजेट आउने गरेता पनि नबन्नुको कारण के हो ?, स्वयमसेविका घरदैलोमा पुग्नुपर्ने, आधुनिक कृषि औजार छुटमा उपलब्ध गराउनुपर्ने, इट्टाभट्टालाई वातावरणमैत्री बनाई व्यवस्थापन गर्नुपर्ने, वडाका योजनामा स्थानीयवासीलाई सक्रिय सहभागिता जनाउने बनाउनुपर्ने, कृषि सडक बनाउनुपर्ने, ढुवानि खर्च न्युनिकरण गर्नुपर्ने, ढुंगा तथा गिटीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका प्रश्न, माग तथा गुनासोहरु राखिएको थियो ।

जवाफमा प्रहरी प्रभाग सुडालका प्रमुख दिपक श्रेष्ठले लागुपदार्थ सेवन तथा वेचविखन गर्नेलाई मुद्धा चलाई कानुनी कारवाही गर्ने गरिएको उल्लेख गर्दै गाँजा सेवन गर्नेलाई नियन्त्रणमा लिई सम्झाई बुझाई उसका आफन्त जिम्मा लगाउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक दुर्घटना न्युनिकरण गर्न हामीसँग पयाृप्त जनशक्तीको अभाव रहेको छ । तर पनि आवश्यक व्यवस्थापन गरी चेकिङ गर्ने, कारवाही गर्ने गरिएता पनि दुर्घटना न्युनिकरण गर्न नागरिक नै सचेत हुन अपरिहार्य रहेको छ । जसको लागि हामील्े विद्यालय तथा समाजमा सचेतनामुलक कार्यहरु गरिहेका छौं, पर्चा वितरण गर्ने गरेका छौं ।’
प्रश्नहरुको जवफा दिँदै वडाध्यक्ष गणेश त्यातले वडाको सडक तथा अन्य पूर्वाधार विकासको लागि अपरिहार्य बनेको टिप्पर तथा डोजर खरिद प्रकृया आफैले अगाडी बढाएको जानकारी गराउनुभयो । १० लाखभन्दा माथिको बजेटमा अनिवार्य ठेक्का प्राणलीमा जानुपर्ने भएकाले नगरपालिकाबाट ढिला सुस्ती हुने गरेको गुनासो गर्नुभयो । वडा तथा नगरपालिकाले सञ्चालन गर्ने गरेका योजनाहरु सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले शाखाबाट सञ्चालन हुने गतिविधिहरुको सूचनामात्र आउने भएकाले अपेक्षकृत नतिजा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो ।
उहाँले प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘वडा कार्यालय बनाउन आफ्नै जग्गा नभएका कारण नगरपालिकाबाट बजेट शुनिश्चत भएको छैन । स्वास्थ्य चौकी बनाउन अघिल्लो वर्षदेखि नै बजेट विनियोजन भएता पनि हाल आएर मात्र ठेक्का प्रकृयामा अगाडी बढेको छ ।’ सार्वजनिक सुनुवाई आवको सुरुमा नै हुनुपर्नेमा आफ्नो जोड रहेको उल्लेख गर्दै उहाँले जेनजी आन्दोलनपछि पूर्वाधार विकासका लागि संघबाट विनियोजन भएको दुई करोड बराबरका रकम नआएको जानकारी गराउनुभयो । पछिल्लो समय अत्याधिक मूल्यवृद्धिका कारण उपभोक्ता समिति तथा ठेकेदारले काम गर्न नसकेको जानकारी गराउँदै उहाँले सडकमा रहेका विद्युत तथा अन्य तारहरु हटाउन सम्बन्धित निकायलाई घच्घच्याइरहेको बताउनुभयो ।
सडकको नाला तथा ढल बन्द नगर्न आम नागकिरलाई पिल गर्दै सडक दुर्घटनाको न्युनिकरण गर्न नागरिक आफैं सचेत हुनुपर्नेमा जोड दिनुभयो । २० लाख सार्वजनिक जग्गा संरक्षण गर्न बजेट विनियोजन भएता पनि ठेक्का प्रणालीका कारण हुन नसकेको जानकारी गराउनुभयो । पूर्वाधार निर्माणका क्रममा एकपट्टी काम गर्ने, अर्कोपट्टी नगर्ने कार्य नभएको उल्लेख गर्दै उहाँले बजेट तथा ठेकेदारको सहजताका आधारमा काम भइरहेको बताउनुभयो ।
सिमित स्रोत साधनले असिमित कार्य सम्पादन गर्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘च्याम्हासिंह–नाला सडकको स्तरउन्नती गर्न पहल भइरहेको छ । प्रदेश तथा संघमा परिपत्र गरेका छौं । त्यस्तै सीसी क्यामेराको जडान तथा संरक्षण र प्राविधिक समस्याको बारेमा नगरपालिकालाई जानकारी गराइएको छ । व्यवस्थापन गरिदिन आग्रह गरेका छौं । दुई दिने विदाले प्रशासन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको छ । त्यस्तै ढल व्यवस्थापन गर्न ठूलो चुनौति रहेको छ । जसको लागि नगरपालिकाले घर निर्माण गर्दा अनिवार्य सेफ्टीट्याङ्की निर्माण गर्ने नीति लिएको छ । अब क्रमिक रुपमा समाधान हुँदै जानेछ ।’
सहकारी समस्या समाधानमा वडाको सक्दो प्रयास हुने उल्लेख गर्दै उहाँले घरयासी प्रयोगको पानी कृषि तथा अन्य प्रयोग गर्न सुझाव दिनुभयो । यातायातको समस्या समाधान गर्न यातायातव्यवसायीसँग छलफल भइरहेका जानकारी गराउँदै उहाँले भ्यु टावर वडा वा नगरपालिकालाई ठेकेदारले हस्तान्तरण नै नगरेकाले व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको बताउनुभयो । सहकारी वा समुहको माध्यमबाट कृषकलाई मल तथा विउ वितरण गरिने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मल तथा विउको व्यवस्थापन संघीय सरकारले गर्ने हो । तर आवश्यक मात्रामा मल उपलब्ध गराएको छैन । त्यसैले हामी सरकारलाई आग्रह गर्न चाहन्छौं कि नेपाल कृषिप्रधान मुलुक हो । जहाँ मल नपाएर कृषकहरु तड्पिनु पर्ने अवस्थाका दिर्घकालिन समाधान खोज्नुपर्छ । जसको एउटै उपाय भनेको नै स्वेदशमा नै रासायनिक मल कारखाना खाल्नुपर्छ । रासायनीक विषदी प्रयोग गर्ने कृषकमाथि हामीले शुस्म निगरानी गरिरहेका छौं । प्रयोग गरेका प्रमाणित भए कानुनी कारवाही गर्नेछौं ।’
नगरपालिकाका ९ वटै वडामध्ये ९ नं. वडाले नगरपालिकालाई सवैभन्दा बढी राजस्व बुझाउने गरेको स्मरण गराउँदै उहाँले राजस्व बढि बुझाएता पनि बजेट भने कम पाउने गरेको गुनासो गर्नुभयो । योजना समन्वयको अभावमा बेरुजु हुने गरेको उल्लेख गर्दै उहाँले सिंहदरबारको अधिकार नगरपालिकामा मात्र आएको तर वडा तथा जनताको माझमा पुग्न बाँकी रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य स्वयमसेविकाले घर दैलोमा सेवा प्रवाह के के विषयमा गर्ने हो भनेर नागरिकले सूचना लिनुपर्नेमा जोड दिँदै उहाँले पाउनुपर्ने सुविधा नपाएको भए त्यसले तत्काल सच्याउने प्रतिवद्धता जनाउनुभयो ।
इटाभट्टाले नीति पालना नगरेको उल्लेख गर्दै उहाँले जथाभावी धुलो तथा हिलो राख्ने गरेको भन्दै कारवाही गर्न नगरपालिकालाई आग्रह गर्ने प्रतिवद्धता जनाउनुभयो । वातावरण प्रदुषण नियन्त्रणमा विशेष ध्यान दिन जरुरी रहेको औंल्याउँदै कलकारखाना बन्द गर्ने नभई व्यवस्थित गर्नेतर्फ ध्यान केन्द्रीत रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्नुभयो भने संस्थाका सचिव हेमराज ढकालले सहजिकरण गर्नुभयो । कार्यक्रममा वडा सदस्यहरु विद्यापती प्वार थापा, सुमित्रा दर्जी, रविन वासुकला, ताथली स्वास्थ्य चौकीका प्रमुख हरिनारायण साह लगायत विभिन्न पार्टीका प्रतिनिधिहरु तथा ८५ जना स्थानीयवासीको सहभागिता रहेको थियो ।






