काठमाडौँ, ८ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्तीले लागत बढाएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले समयमै काम नसकिने परिपाटीले गर्दा आयोजनाहरू महँगो हुँदै गएको र यसले देशको अर्थतन्त्रमा असर पारेको उल्लेख गरे ।
उनले भने, ‘निजी क्षेत्रले जलविद्युतमा लगानी गर्दा जुन लागतमा बन्नुपर्ने हो, ढिलासुस्तीले गर्दा त्यो धेरै महँगो भइरहेको छ । एउटा विन्दुमा पुगेपछि जलविद्युतको लगानी सान्दर्भिक हो कि असान्दर्भिक भन्ने ठूलो बहसमा हामी पुग्ने अवस्था छ ।’
उनले विद्यमान सार्वजनिक खरिद ऐन र प्रक्रियागत जटिलताका कारण काम गर्न कठिन भइरहेको बताए । उनले भने, ‘हामी अझै पनि व्यवहारिक र वैज्ञानिक तरिकाले जान सकेका छैनौँ । स्रोत छ, जनताको अपेक्षा पनि छ, तर परिचालन गर्ने संयन्त्र स्पष्ट छैन,’ । आगामी आर्थिक वर्षका लागि सार्वजनिक खरिद ऐन लगायतका कानुनमा व्यवहारिक संशोधन आवश्यक रहेको उनको तर्क थियो ।






