काङ्गोमा आक्रोशित भीडले जलाए अस्पतालका आइसोलेसन वार्ड

एजेन्सी, ८ जेठ । प्रजातान्त्रिक गणतन्त्र (डीआर) काङ्गोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारीको केन्द्रविन्दुमा रहेको एउटा अस्पतालमा आक्रोशित भीडले आगजनी र तोडफोड गरेको छ ।

इबोला भाइरसका कारण ज्यान गुमाएका एक युवाको शव अन्तिम संस्कारका लागि परिवार र साथीहरूलाई लैजान नदिएपछि भड्किएको भीडले अस्पतालमा आक्रमण गरेको हो । 

इतुरी प्रान्तको बुनिया सहर नजिकै रहेको र्वाम्पारा जनरल अस्पतालमा स्थानीयबासीले ढुङ्गामुढा गर्नुका साथै आइसोलेसन वार्डका रूपमा प्रयोग गरिएका पालहरूमा आगो लगाइदिएको स्थानीय राजनीतिज्ञ लुक मालेम्बे मालेम्बेले बताए। स्थिति नियन्त्रणमा लिन र भीडलाई तितरबितर पार्न प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो ।

इबोला सङ्क्रमित मृतकको शव अत्यधिक सङ्क्रामक हुने भएकाले भाइरसको फैलावट रोक्न अधिकारीहरूले सुरक्षित रूपमा अन्तिम संस्कार गर्नुपर्ने कानुनी प्रावधान छ। तर, मृत्यु हुने युवा स्थानीय समुदायमा निकै लोकप्रिय फुटबल खेलाडी रहेकाले उनको मृत्युले स्तब्ध बनेका मानिसहरूले रोगको गम्भीरता र वास्तविकतालाई बुझ्न नसक्दा यो घटना घटेको इतुरीमा इबोला सुरक्षा प्रतिकार्यका संयोजक जीन क्लाउड मुकेन्दीले जानकारी दिए । 

मृतककी आमाले भने आफ्नो छोराको मृत्यु इबोला नभई टाइफाइड ज्वरोका कारण भएको दाबी गरेकी छन्। स्थानीय नेता मालेम्बेका अनुसार दुर्गम क्षेत्रका कतिपय मानिसहरूमा इबोला भाइरस वास्तविक हो भन्ने विश्वास नै छैन। उनले भने, ‘मानिसहरूमा यसबारे सही सूचना र चेतना छैन। जनसंख्याको एउटा हिस्सा इबोलालाई बाहिरियाहरूले पैसा कमाउनका लागि खडा गरेको भ्रम मात्र मान्छन्, जुन निकै दुखद् हो।’

अस्पतालमा भएको आगजनीमा दुईवटा आइसोलेसन पाल र अन्तिम संस्कारका लागि राखिएको एउटा शव जलेर नष्ट भएको छ। आक्रमणका क्रममा एक स्वास्थ्यकर्मी ढुङ्गा लागेर घाइते भएका छन् भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सेनाको सुरक्षामा राखिएको छ। 

आगजनी गरिएका पालहरूमा ६ जना इबोलाका बिरामीले उपचार गराइरहेका थिए। सुरुमा ती बिरामीहरू भागाभाग भएको रिपोर्ट सार्वजनिक भए पनि पाल सञ्चालन गरिरहेको चिकित्सा परोपकारी संस्था ‘अलिमा’ ले सबै बिरामीहरू सुरक्षित रहेको र उनीहरूको अहिले अस्पताल भित्रै उपचार भइरहेको स्पष्ट पारेको छ।

यसै महामारीका कारण डीआर काङ्गोको राष्ट्रिय फुटबल टोलीले राजधानी किन्सासामा तय गरेको विश्वकप अघिको प्रशिक्षण शिविर समेत रद्द गरेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यस प्रकोपलाई ‘अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरे पनि यो विश्वव्यापी महामारीको तहमा भने नपुगेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय