नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: मन्त्री डा. वाग्ले

काठमाडौँ, ६ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ)बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी)को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को  कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको नेतृत्वमा नेपाल सरकार मुलुकमा सुशासन स्थापना गरेर विकासमा फड्को मार्न लागिपरेको उल्लेख गर्दै अर्थमन्त्री डा. वाग्लेले जनताको जनमतको एक प्रमुख सन्देश पनि यही भएको बताउनुभयो ।

‘अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो ३० वर्षको कुशासनले प्रतिफल हो’ उहाँले भन्नुभयो । नयाँ सरकार गठन भए पछि सुशासनका सवालमा भएका कामहरू सबैले अनुभूत गर्ने किसिमको भएको विचार उहाँले व्यक्त गर्नुभयो ।

नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्याकंन पनि भइरहेको उहाँले उल्लेख गर्नुभयो । ग्रेलिस्ट सूचक सम्बन्धमा नेपालको अवस्थामा पछिल्लो समीक्षा अवधि र अहिले धेरै फरक रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै एपीजी उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त कार्य गर्न अझै बाँकी रहेको बताउनुभयो ।

छलफलमा अर्थ मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक लगायतका निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । एफएटीएफले २०८१ फागुन ९ मा नेपाललाई २ वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । नेपालले उक्त सूचीबाट बाहिर निस्कन १५ बुँदे आइसिआरजि कार्ययोजनामा प्रतिबद्धता व्यक्त गरी सो अनुरूप कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ जेठ । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ

एजेन्सी, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको अनुरोधमा मंगलबारका लागि तय गरिएको इरानमाथिको सैन्य आक्रमणलाई तत्कालका लागि स्थगित

एजेन्सी, ५ जेठ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने

एजेन्सी, ५ जेठ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा तीन जनाको