नेपाललाई विश्वको उपचार गन्तव्य बनाउने महायोजना सार्वजनिक

ललितपुर, ५ जेठ । हिमाल, जंगल, योग र आध्यात्मको अपूर्व संगम बोकेको नेपाललाई विश्वको प्रमुख आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने महत्त्वाकांक्षी योजनाले मूर्त रूप लिन थालेको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्य एवम जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको आयोजनाका विच सम्पन्न ‘आरोग्य संवाद : आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’ कार्यक्रमले यही सन्देश बोकेको छ ।

सरकारी निकाय, निजी क्षेत्र, नीति निर्माता, योग ध्यान आरोग्य विधाका प्रतिनिधि, स्वास्थ्य तथा पर्यटन विज्ञ, अनुसन्धानकर्ता र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न यस कार्यक्रमले नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बहुपक्षीय सहकार्य र साझा समझदारीको आवश्यकतामा जोड दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले नेपालका पहाड, वन, योग, ध्यान, आयुर्वेद र जैविक विविधतालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार निर्माण गर्न सकिने बताए । उनले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यको संकुचित परिभाषाबाट माथि उठाउँदै मानसिक, सामाजिक र वातावरणीय आयाम समेत समेट्ने समग्र दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

“हाम्रो सभ्यता, संस्कृति र प्रकृतिले नै हामीलाई विश्वकै उत्तम आरोग्य गन्तव्य बन्ने अवसर दिएको छ,” उनले भने । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले विश्व पर्यटनको धारा क्रमशः ‘वेलनेस टुरिजम’तर्फ मोडिँदै गएको औँल्याए । स्वास्थ्य, ट्रेकिङ, धार्मिक, साँस्कृतिक, योग, ध्यान र प्राकृतिक उपचार जस्ता विविध आयाम आरोग्य पर्यटनभित्र समेटिने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय अध्ययनहरूको हवाला दिनुभयो-वेलनेस पर्यटकहरू साधारण पर्यटकभन्दा लामो समय बस्ने र बढी खर्च गर्ने बताए । गण्डकी र लुम्बिनी प्रदेशलाई नमुना आरोग्य प्रदेशका रूपमा विकास गर्न सकिने सम्भावना पनि उनले औँल्याए ।

संस्थापक रमेश नेपालले भने आरोग्यलाई जीवनशैली, व्यवहार र सामाजिक अभ्याससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै सहभागीहरूलाई ध्यानको अभ्यासमा समेत सहभागी गराए । कार्यक्रममा सरकारी र निजी क्षेत्रबीच विशेष संवाद पनि सम्पन्न भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, परराष्ट्र मन्त्रालयका सहसचिव मनिरत्न शर्मा र उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको सहभागितामा भएको यस संवादले विभिन्न मन्त्रालय र तीनै तहका सरकारबीच समन्वयको आवश्यकतामा जोड दिएको छ ।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रका संयोजक तथा पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आरोग्य पर्यटन सफल कार्यान्वयनका लागि अवधारणापत्र प्रस्तुत गर्नुभयो। सरकारले सार्वजनिक गरेको आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) तथा कार्ययोजना (सन् २०२६–२०३०) को प्रभावकारी कार्यान्वयन, अन्तर्राष्ट्रिय बजार विस्तार, पूर्वाधार विकास र मानव संसाधन क्षमता अभिवृद्धिका विषयमा गहन छलफल भयो । सहभागीहरूले एकस्वरमा जोड दिए-नेपाललाई विश्वस्तरको आरोग्य गन्तव्य बनाउन सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीच सहकार्य र साझा दृष्टिकोण अपरिहार्य छ । जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रले आगामी दिनमा आरोग्य पर्यटन, मानसिक स्वास्थ्य, योग–ध्यान, प्राकृतिक उपचार र समग्र आरोग्यसम्बन्धी नीति संवाद तथा अध्ययनलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रमको सञ्चालन सोविता सिम्खडाले र सहजीकरण वरिष्ठ सञ्चारकर्मी निराजन भण्डारीले गरेका थिए। नेपाल आरोग्य वर्ष २०२७ — योग, ध्यान, आयुर्वेद र प्रकृतिको शक्तिलाई विश्वसामु चिनाउने यो अभियान अब केवल एउटा घोषणा मात्र होइन, यो नेपालको आर्थिक र सांस्कृतिक पुनर्जागरणको नयाँ अध्याय हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा

काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी/जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट २५ हजार

वीरगञ्ज, ५ जेठ । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको