एजेन्सी, २९ बैशाख । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको घातक आत्मघाती आक्रमणपछि इस्लामाबादले अफगानिस्तानमाथि गम्भीर आरोप लगाउँदै देशका शीर्ष कूटनीतिज्ञलाई बोलाएको छ ।
पाकिस्तानले उक्त आक्रमण अफगानिस्तानमा आश्रय लिएर बसेका आतङ्ककारी समूहले योजनाबद्ध रूपमा गराएको निष्कर्ष निकालेको दाबी गरेको छ । यस घटनाले पहिलेदेखि तनावपूर्ण रहेको पाकिस्तान–अफगान सम्बन्धलाई थप चिस्याउने सङ्केत देखिएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा अफगान कार्यवाहक राजदूतलाई मन्त्रालयमा बोलाएर औपचारिक रूपमा आपत्ति जनाइएको जनाएको छ । मन्त्रालयका अनुसार घटनाको विस्तृत अनुसन्धान, सङ्कलित प्रमाण तथा प्राविधिक गुप्तचर सूचनाले आक्रमणको योजना अफगानिस्तानमा बसेका आतङ्ककारीहरूले बनाएको सङ्केत गरेको छ ।
शनिबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नू क्षेत्रमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार एक आत्मघाती हमलाकारीले सुरक्षा चौकीमा कार बम विस्फोट गराएका थिए भने त्यसलगत्तै सशस्त्र समूहले प्रहरीमाथि गोली प्रहार गरेको थियो ।
अफगान सीमासँग नजिक रहेको बन्नू क्षेत्रका एक वरिष्ठ प्रशासनिक अधिकारीले आक्रमण निकै योजनाबद्ध र उच्चस्तरीय तयारीसहित गरिएको बताए । नाम सार्वजनिक नगर्ने सर्तमा एएफपीसँग कुरा गर्दै उनले आक्रमणमा सहभागी आतङ्ककारीहरूले भारी हतियार बोकेको क्वाडकप्टरसमेत प्रयोग गरेको जानकारी दिए ।







