‘देवभूमि नेपाल’ अभियान र आरोग्य क्रान्ति: नीतिबाट नियति बदल्ने सरकारको नयाँ संकल्प

नेपाल सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम मार्फत नेपालको आध्यात्मिक विरासत र नागरिकको स्वास्थ्यलाई केन्द्रमा राख्दै एक युगान्तकारी योजना अघि सारेको छ । प्रतिनिधि सभामा प्रस्तुत कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्र बनाउने र मानसिक स्वास्थ्यलाई योग तथा ध्यानसँग जोड्ने नीतिले मुलुकमा ‘आरोग्य क्रान्ति’को नयाँ मार्गप्रशस्त गरेको छ ।

नीति तथा कार्यक्रमको बुँदा नम्बर ३८ ले नेपाललाई केवल भौगोलिक एकाइका रूपमा मात्र नभई विश्वकै ‘आध्यात्मिक केन्द्र’का रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियानको घोषणासँगै सरकारले धार्मिक, सांस्कृतिक र आरोग्य पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने सङ्केत दिएको छ ।

अध्यात्मको मूल जरो मानिने पशुपतिनाथ, बुद्ध जन्मस्थल लुम्बिनी, जानकीको पावन भूमि जनकपुरधाम,मोक्षको द्वार मानिने मुक्तिनाथ क्षेत्र लगायतलाई ‘आध्यात्मिक तीर्थ कूटनीति’ (Spiritual Pilgrimage Diplomacy) मार्फत विश्व बजारमा प्रवर्द्धन गर्ने सरकारको योजना छ । यो केवल पर्यटन प्रवर्द्धन मात्र नभई नेपालको मौलिकतालाई सफ्ट पावर (Soft Power) का रूपमा प्रयोग गर्ने रणनीतिक कदम देखिन्छ । चलचित्र र अध्ययन पर्यटनलाई समेत यसमा जोड्नुले नेपालको प्राचीन ज्ञानलाई आधुनिक पुस्ता र विश्व समुदायसँग जोड्ने पुलको काम गर्नेछ ।

त्यसैगरी, बुँदा नम्बर ५७ मा उल्लेखित स्वास्थ्य सम्बन्धी व्यवस्थाले परम्परागत उपचार पद्धतिमा आमूल परिवर्तनको माग गरेको छ । क्यान्सर जस्ता नसर्ने रोगहरूको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न ‘उपचारभन्दा रोकथाम’ (Prevention is better than cure) को सिद्धान्तलाई आत्मसात गरिएको छ ।

यस पटकको नीतिमा सबैभन्दा प्रशंसनीय पक्ष भनेको मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा स्वीकार गरिनु हो । आधुनिक जीवनशैलीका कारण निम्तिएको तनाव र मानसिक समस्यालाई सम्बोधन गर्न सरकारले ‘योग, ध्यान र जीवनशैलीमा आधारित रणनीति’ कार्यान्वयन गर्ने घोषणा गरेको छ । समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरूको विस्तार र योग-ध्यानको प्रवर्द्धनले नागरिकलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि सबल बनाउने ध्येय राखेको छ ।

सरकारको यो घोषणाले जनस्तरमा उत्साह जगाएको छ । यद्यपि,नीति कागजमा उत्कृष्ट हुनु एउटा पक्ष हो भने त्यसको कार्यान्वयन र नतिजा अर्को । ‘देवभूमि नेपाल’ बनाउन आवश्यक पूर्वाधार, पहुँच र अन्तर्राष्ट्रिय बजारीकरणमा राज्यको सक्रियता अनिवार्य छ ।

साथै, योग र ध्यानलाई केवल कार्यक्रममा सीमित नगरी विद्यालय स्तरको पाठ्यक्रम र दैनिक जीवनको हिस्सा बनाउन सके मात्र नेपाल साँच्चै ‘आरोग्यको राजधानी’ बन्न सक्छ। जब राज्यको नीति र नागरिकको संकल्प एउटै लयमा धड्किन्छन्, तब मात्र नेपालले आफ्नो आध्यात्मिक र सांस्कृतिक वैभवलाई विश्वसामु सानका साथ प्रस्तुत गर्न सक्नेछ ।

यो ऐतिहासिक प्रस्थान बिन्दुलाई सफल पार्न अब सरकारी निकाय, निजी क्षेत्र र आम नागरिकबीच ‘आत्मीय सहकार्य’को खाँचो छ । यदि यो नीति सफलतापूर्वक कार्यान्वयन भएमा, नेपालले विश्वलाई शान्ति र आरोग्यको नयाँ सन्देश दिने निश्चित छ ।

नबराज काफ्ले

महासचिव

योग ध्यान आरोग्य सन्जाल नेपाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६