काठमाडौँ, २६ बैशाख । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतक ऐन महरले सरकारले संसद्लाई उपेक्षा गर्दै ‘कठपुतली’ बनाउन खोजेको आरोप लगाएका छन् ।
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति एमालेले आपत्ति प्रकट गरेको छ । बैठकमा सुकुमबासी व्यवस्थापनका नाममा सरकारले ‘डोजर आतङ्क’ सिर्जना गरेको र मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको विषयमा पनि छलफल भएको छ । राज्यले नागरिकको आत्मसम्मानमा चोट पुर्याएको र कतिपय अवस्थामा आत्महत्याका लागि दुरुत्साहन गर्ने परिस्थिति निर्माण गरेको भन्दै एमालेले यस विषयलाई आगामी सदनमा सशक्त रूपमा उठाउने निर्णय गरेको छ ।
उनले भने, ‘संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको प्रयास अलोकतान्त्रिक, अराष्ट्रिय र जनमतको अवमूल्यन हो । अध्यादेशका माध्यमबाट लोकतान्त्रिक मूल्य-मान्यतालाई कमजोर बनाउने कार्यको एमालेले सशक्त प्रतिवाद गर्नेछ । सदनमा प्रतिपक्षले उठाएका आवाज र जनसरोकारका विषयलाई सरकारले कसरी लिन्छ र कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसकै आधारमा आगामी कार्यदिशा तय हुनेछ ।’
वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनमा एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । सदनको कारबाही सुचारु हुने वा नहुने भन्ने कुरा सरकारको व्यवहारमा निर्भर रहने प्रमुख सचेतक महरको भनाइ छ । एमालेले आफ्नो संसदीय दललाई साङ्गठनिक रूपमा सुव्यवस्थित गर्दै जनपक्षीय मुद्दाहरूमा सदनमा आक्रामक रूपमा प्रस्तुत हुने सङ्केत दिएको छ ।






