काठमाडौँ, २२ बैशाख । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन् ।
आज कीर्तिपुरस्थित सुकुम्वासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताए ।
उनले भने, “विस्थापितहरूलाई हाल राखिएको सरकारी जग्गा (होल्डिङ सेन्टर) आफैँमा डुबान क्षेत्र हो । एउटै टेन्टमा धेरै परिवार कोच्चिएर बस्नुपर्ने बाध्यता छ, जुन स्वास्थ्य र सामाजिक दृष्टिकोणले उपयुक्त छैन । धेरै बालबालिका आजदेखि मात्र विद्यालय जान पाएका छन्, कतिपयको परीक्षासमेत प्रभावित भएको छ । स्वास्थ्योपचारमा कठिनाइ भइरहेको छ भने रोजगारी र व्यवसाय गुम्दा बैंकको ब्याज तिर्न नसकेर विस्थापितहरू मानसिक तनावमा छन् । पहिले व्यवस्थापनको योजना बनाएर मात्र बस्ती हटाउनु पर्दथ्यो, तर सरकारले उल्टो बाटो रोज्दा समस्या जटिल बनेको छ ।”





