एजेन्सी, २१ बैशाख । फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पले हल्लिँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)का अनुसार दिउँसो गएको भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्प समर प्रान्तअन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित रहेको जनाइएको छ । गहिराइ बढी भएकाले ठूलो विनाश हुनबाट जोगिएको अनुमान गरिएको छ ।
स्थानीय एक प्रहरी अधिकारीका अनुसार भूकम्प ‘अचानक र निकै शक्तिशाली’ महसुस गरिएको थियो । उनले प्रहरी कार्यालयमै छतसँग जोडिएको एक बीम भाँचिएको र केही फर्निचरहरू हल्लिएको देखिएको बताए । सम्भावित परकम्प (आफ्टरसक) को जोखिमका कारण प्रहरीसहित अन्य कर्मचारीहरू बाहिर बसेर सतर्कता अपनाइरहेका छन् ।
हालसम्म मानवीय क्षति वा गम्भीर चोटपटकको कुनै आधिकारिक विवरण प्राप्त नभएको जनाइएको छ । तर भूकम्पको झट्काले स्थानीय स्तरमा डर र असुरक्षाको वातावरण सिर्जना गरेको छ ।







