काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ ।
बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो ।
‘१५ औं महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा वैशाख १६ गतेदेखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो,’ निर्णयमा उल्लेख छ ।
बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गर्ने निर्णय गरेको छ । अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेबसाइटमा राखिनेछ जनाएको छ ।







