रसुवा, १४ बैशाख । रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका सामान भित्रिएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको हो । नाकाबाट आयात हुने सामग्रीमा रोलकपडा, तयारी पोसाक, विद्युतीय इभी गाडी, जलविद्युत् तथा पूर्वाधार विकास आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी सामग्री र नेपाली सेनाले निर्माण गरिरहेको ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरण प्रमुख रहेका छन् ।
नेपालबाट चीनतर्फ भने हस्तकलाका सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीलाई खुवाइने ‘प्याकिङ’ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन् । सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ ।





