काठमाडौँ, ११ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुम्सुबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउनु राज्य आतंक भएको भन्दै आपत्ति जनाएका छन् ।
एक विज्ञप्ती जारी गर्दै अध्यक्ष साम्पाङले संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरित सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट गरेका हुन् । उनले उचित क्षतिपूर्तिसहित उचित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढ्नुपर्ने सुझाव दिएका छन् । उचित व्यवस्थापन नगरी जनतालाई बेघर बनाएर सुशासन, आर्थिक उन्नति र विकास सम्भव नहुने उनको भनाइ छ ।
विज्ञप्तीमा भनिएको छ, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी, बुट र बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले सरकारको निरंकुश चरित्र देखाएको छ । सुकुम्सुबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो ।’
श्रम संस्कृति पार्टीले यस्ता मानव अधिकार विरोधी गतिविधिको सख्त निन्दा र भर्त्सना गर्दै नागरिक सर्वोच्चताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।






