काठमाडौँ, ११ बैशाख । जनआन्दोलन २०६२/६३ को सफलता स्वरूप प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रबमोजिम विघटित संसद् पुनर्स्थापना गरेको ऐतिहासिक दिनको स्मरणमा विसं २०६४ देखि यो दिवस मनाउन थालिएको हो । नेपालको राजनीतिक इतिहासमा विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि सुरु भएको अस्थिरता र राजाको प्रत्यक्ष शासनको शृङ्खला वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो ।
तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन चैतमा पुग्दा देशव्यापी बन्यो । नयाँ वर्ष २०६३ को सुरुवातसँगै लाखौँ जनता सडकमा उत्रिएर चक्रपथ मानव सागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको माग सम्बोधन गर्न बाध्य भएका थिए । वैशाख ११ गते राति राजाले संसद् पुनर्स्थापनाको घोषणा गर्दै बैठक आह्वान गरेसँगै जनताको जित भएको थियो ।





