काठमाडौँ, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेका हुन् ।
सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो । सरकारले स्थगित गर्न पठाएको पत्रमा अधिवेशन कहिले आह्वान गर्ने भन्ने मिति उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपतिको कार्यालयले वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को सिफारिसमा भन्दै यसअघि वैशाख १७ गतेका लागि अधिवेशन आह्वानको सूचना जारी गरेको थियो ।






