काठमाडौँ, १० बैशाख । नेकपा एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको नयाँ नियमावलीको प्रस्तावित मस्यौदामा रहेका कतिपय प्रावधानप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रस्तावित नियमावलीको नियम २५९ मा रहेको व्यवस्थाले प्रचलित सङ्घीय कानुनलाई नै चुनौती दिन खोजेको भन्दै बर्तौलाले यसलाई त्रुटिपूर्ण र विधिकाे सन्तुलन विपरीत भएको टिप्पणी गरेका हुन्।
प्रस्तावित नियमावलीको नियम २५९ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा, समिति र सदस्यका हकमा यो नियमावली सङ्घीय कानुनका रूपमा रही विशेष कानुन सरह लागू हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।
यसै बुँदालाई लक्षित गर्दै बर्तौलाले नियमावलीले प्रचलित कानुनलाई प्रतिस्थापन वा निष्प्रभावी पार्न नसक्ने स्पष्ट पारेका छन् । नियमावली मूलतः सदनको कार्य सञ्चालन र आन्तरिक व्यवस्थापनका लागि बनाइने कार्यविधि सम्बन्धी दस्ताबेज मात्र भएको उनको तर्क छ।






