काठमाडौँ, ९ बैशाख । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको एकतामा जोड दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रचण्डले नेपाली क्रान्तिलाई नयाँ उचाइमा पुर्याउन र समतामूलक समाज निर्माण गर्न छरिएर रहेका सम्पूर्ण वामपन्थी शक्तिहरू एक हुनुपर्नेमा विशेष जोड दिएका छन् । विगतका जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिहरूबीचको मोर्चाबन्दी अपरिहार्य रहेको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनले मात्र उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु ।’ वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिस्ट पार्टीले सामन्ती निरङ्कुशताको अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दिशामा डोहोर्याउन ऐतिहासिक भूमिका खेलेको स्मरण गरेका छन् ।





