काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।
आज काठमाडौँमा पार्टीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताए ।
उनले भने, ‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौं । तपाईंहरूको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ, हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दू अधिराज्य स्थापना गर्नुहुन्छ, ‘राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ, नेपालको संविधान संशोधन गर्न तपाईंलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौं । १८७ सिट पुग्छ, संविधान संशोधन गरौ भनेर हामीले घोषणा गरिसकेका छौं ।’





