काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् ।
आज पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चारमाध्यममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले ‘स्टन्ट’का भरमा देश नचल्ने भन्दै सरकारको आलोचना समेत गरे ।
उनले भने, “सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चारमाध्यममा जे आइराखेको छ, त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोसिजन क्लियर गर्नुपर्छ,” “पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिसन क्लियर गर्नुपर्छ ।” “मैले अस्ति भर्खरै सञ्चारमाध्यममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु । म लाइसेन्स नवीकरण गर्न गएको थिएँ, लाइसेन्स पाइनँ । तर, बाँडिराखेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन ।”





