काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बागमती प्रदेशका जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा महामन्त्री पौडेलले भने, ‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो । यसमा कोही अलमलमा नपरौँ ।’
उनले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल बनाउन सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन लागिएको बताए । महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधि बारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए ।





