एजेन्सी, १८ चैत । इजरायली सेनाले मंगलबार २४ घण्टाको अवधिमा इरानमा २३० भन्दा बढी हवाई हमला गरेको दाबी गरेको छ ।
अमेरिका–इजरायल र इरान युद्धको आज ३३औँ दिन हो । इजरायलले यी हमलाहरू एक योजनाबद्ध सैन्य अभियानका हिस्सा भएको बताएको छ । यसको उद्देश्य इरानको सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको उसले बताएको छ ।
यता, इरानले भने इजरायल र अमेरिकाले सैन्य ठेगानाहरूमा मात्र नभई सर्वसाधारण नागरिकहरूसँग जोडिएका स्थलहरूमा पनि आक्रमण गरिरहेको आरोप लगाएको छ ।
यसैबीच अमेरिका र इजरायलका हमलाहरूमा हालसम्म इरानका कम्तीमा चार हजार ७७० सुरक्षाकर्मीको मृत्यु भइसकेको तेहरान टाइम्सको रिपोर्टमा उल्लेख छ । यस अवधिमा करिब २१ हजार मानिस घाइते भएका छन् ।
साथै, युद्धले यस क्षेत्रको अर्थतन्त्रमा ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ । रिपोर्टका अनुसार, यो युद्ध अब केही देशमा मात्र सीमित नरही सम्पूर्ण क्षेत्रकै लागि ठूलो संकट बनेको छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका अनुसार, क्षेत्रको जीडीपी ३.७ देखि ६ प्रतिशतसम्म घट्न सक्ने, होर्मुज जलमार्गबाट हुने जहाजको आवतजावत ७० प्रतिशतभन्दा बढीले घटेको, तेलको मूल्य प्रतिब्यारेल करिब १२० डलर पुगेको र १६ लाखदेखि ३६ लाखसम्म रोजगारी संकटमा परेको छ ।
यसैबीच अमेरिका, इजरायल र इरान युद्धको अन्त्यका लागि चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक डारले बेइजिङमा भएको बैठकपछि इरान युद्ध रोक्नका लागि पाँचबुँदे योजना जारी गरेका छन् ।






