काठमाडौँ, १५ चैत । गायक तथा नायक अशोक दर्जी, अब भने परिवारसँग बस्ने भएका छन् ।
सडकमा गाउँदै, पैसा माग्दै गरेका अशोकलाई करिब ८ वर्षअघि संगीतकार टंक बुढाथोकीले संरक्षण लिएर आफैसँग राखेका थिए । उनैले अशोकलाई ‘मन बिनाको धन’ गीत गाउन दिएका थिए। यसै गीतले अशोकलाई पहिचान दिएको थियो ।
८ वर्षसम्म अशोकलाई आफैसँग राखेर बुढाथोकीले उनलाई हिट बालगायकदेखि नायकसम्म बनाए। अशोक मुख्य भूमिकामा रहेको, उनको डेब्यु चलचित्र ‘मन बिनाको धन’ गत कात्तिक २१ गते प्रदर्शनमा आएको थियो। यो चलचित्र उनकै कथामा आधारित थियो। अहिले भने अशोक आफ्नै घर फर्किएका छन्। करिब ३, ४ महिनादेखि अशोक झापास्थित आफ्नै घरमा छन् । अशोक घर फर्किएको जानकारी बुढाथोकीले आज आफ्नो सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै दिएका हुन ।
बुढाथोकीले लेखेका छन्,‘आज यो कुरा यहाँहरू सबैसँग साझा गर्न पाउँदा निकै खुसी लागेको छ। अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्। भगवानले जुराइदिनुभएको हाम्रो सम्बन्ध, साथै यहाँसम्म आइपुग्दा तपाईँहरू सबैको साथ, हौसला र सहयोगअनुसार मैले पाएको जिम्मेवारी सकेसम्म राम्रोसँग निभाउने प्रयास गरेको छु भन्ने विश्वास लिएको छु।’
८ वर्षसम्म आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’ सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन नदिएको उनको भनाई छ।






