एजेन्सी, ८ चैत । सुडानको दार्फर क्षेत्रमा रहेको एक अस्पतालमा भएको साङ्घातिक आक्रमणमा परी कम्तीमा ६४ जनाको ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार मृत्यु हुनेमा १३ जना बालबालिका समेत रहेका छन् ।
पूर्वी दार्फर राज्यको राजधानी अल देइनमा रहेको अल देइन टिचिङ हस्पिटलमा शुक्रबार राति यो आक्रमण भएको हो। आक्रमणमा दुई महिला नर्स र एक पुरुष डाक्टरसहित कैयौँ बिरामीले ज्यान गुमाएका छन् ।
महानिर्देशक टेड्रोसले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार आक्रमणमा परी अन्य ८९ जना घाइते भएका छन्, जसमा आठ जना स्वास्थ्यकर्मी समेत रहेका छन्। यो आक्रमणले अस्पतालको बालरोग विभाग, प्रसूति सेवा र आकस्मिक कक्षमा ठूलो क्षति पुर्याएको छ। जसका कारण अस्पताल पूर्ण रूपमा बन्द भएको छ र सहरमा अत्यावश्यक चिकित्सा सेवा पूर्ण रूपमा टुटेको छ।
सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बिच विगत तीन वर्षदेखि जारी गृहयुद्धका क्रममा स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा परेर मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। डब्लूएचओका अनुसार हालसम्म स्वास्थ्य क्षेत्रमा २१३ वटा आक्रमण पुष्टि भइसकेका छन्, जसमा २ हजार ३६ जनाले ज्यान गुमाएका छन्।
शुक्रबारको यो पछिल्लो आक्रमण कसले गराएको हो भन्नेबारे तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।







