काठमाडौँ, ६ चैत । रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले रिलिजकै पहिलो दिन भारतीय बक्सअफिसमा १०० करोड भारुभन्दा बढी कमाइ गर्दै ऐतिहासिक कीर्तिमान बनाएको छ ।
भारतभर २१ हजार ७२८ शोबाट फिल्मले पहिलो दिनमै करिब १०२ करोड ५५ लाख भारु कमाएको हो ।
यससँगै यो फिल्म बलिउड इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । यसले शाहरुख खानको ‘जवान’को पहिलो दिनको कमाइलाई पनि पछि पार्दै नयाँ रेकर्ड कायम गरेको हो ।
साथै, हिन्दी फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ गर्ने मात्र होइन, ‘ए-रेटेड’ भारतीय फिल्ममध्ये पहिलो दिनमै यति ठूलो कमाइ गर्ने पहिलो फिल्म पनि बनेको छ ।
फिल्मले रिलिजअघि भएको पेड प्रिभ्यूबाट मात्रै ४३ करोड भारु कमाएको थियो । त्यसलाई जोड्दा ‘धुरन्धर २’को कुल बक्स अफिस कमाइ अहिले १४५ करोड ५० लाख भारु पुगेको छ ।






