एजेन्सी, ३० फागुन । अमेरिकी ‘सेन्ट्रल कमान्ड’ले आफ्नो सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालक दलका सबै ६ जनाको मृत्यु भएको जनाएको छ । उक्त घटनामा सत्रुपक्ष वा आफ्नै सेनातर्फबाट कुनै पनि गोलाबारीको संलग्नता भएको नदेखिएको बताइएको छ ।
यो विमान इरानविरुद्ध अमेरिकाले जारी राखेको आक्रमणमा प्रयोग गरिएको थियो । यस घटनामा दुईवटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको बताइएको छ ।
युद्धका बेला आकाशमै अन्य विमानमा तेल भर्न प्रयोग गरिने ‘यूएस केसी १३५’ विमानका चालक दलका ६ सदस्यको मृत्यु भएसँगै अहिलेसम्म इरानी आक्रमणमा परी ज्यान गुमाउने अमेरिकी अधिकारीको संख्या १३ पुगेको पेन्टागनले पुष्टि गरेको छ ।
मध्यपूर्वमा अमेरिकी सेनाको जिम्मेवारी सम्हालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले एक पोस्टमा भनेको छ, “पश्चिमी इराकमा खसेको यूएस केसी–१३५ विमानमा सवार चालक दलका सबै ६ सदस्यको मृत्यु भएको पुष्टि भएको छ ।”
सेन्टकमले पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “विमान सत्रुको निसाना वा आफ्नै समूहको गलत निसानाका कारण दुर्घटना भएको कुनै संकेत भेटिएको छैन । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ।”
यसअघि, इरानी सेनाले दुर्घटनामा आफ्नो संलग्नता पुस्टी गर्दै इराकस्थित सहयोगी समूहले क्षेप्यास्त्र प्रहार गरी विमान खसालेको र त्यसका चालक दलका सबै सदस्यको मृत्यु भएको उल्लेख गरेको थियो ।
इरान समर्थित इराकी समूहहरूको एक खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ले केसी–१३५ लाई खसालेको दाबी गरेको छ । उनीहरूले भागेको अर्को विमानलाई पनि निसाना बनाएको बताएका छन् ।







